बिरानो सहरमा टुटेको सावित्रीको सपना, बाँकी छ आशाको त्यान्द्रो !

करिब २/३ महिनासम्म कोठाभित्र थुनिएर बस्दा दिक्क भएर दिउँसो उखरमाउलो गरी चर्केको घाममा मास्क लगाएर भर्याङको टेकामा झोक्राएर बसेकी सावित्री फुयाँल भर्खर काममा फर्किएकी छिन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर आएपछि सरकारले जारी गरेको निषेधाज्ञाको कारण घरमै थन्किएकी सावित्री आफ्नो दुखेसो पोख्दै छिन् ।

कक्षा ६ पढेर छोडेको…, उनले कुरा सुरु गरिन् ।

किन ? स्वभाविक नै होला ठानेर प्रश्न तेस्र्याएँ ।

घरायसी समस्या । उनले गरिबीतर्फ संकेत गरिन् ।

कोरोनाका कारण सबै क्षेत्रमा नराम्रो प्रभाव पर्याे । १५ महिनाजति समय त ठप्पै भएको सबै व्यवसायहरू फाट्टफुट्ट चल्न थालेका छन् । तर घरबाट निर्धक्क बाहिर निस्कने वातावरण छैन । कोरोनाको बढ्दो कहर र सञ्चित गरिएको अन्न पोहोरै सकिएका कारण दिउँसोभरि काम गरेर बेलुकाको छाक टार्ने मजदुरहरूलाई झन् यो अत्यन्तै कठिन समय हुनु स्वभाविक थियो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कतिपय मानिसहरू सहर छोडेर गाउँतर्फ फर्किए भने कतिपय निषेधाज्ञा खुलिहाल्छ कि भन्ने आशमा यतै अल्झिए ।

निषेधाज्ञा लम्बिएपछि न त काम गर्न पाए न गाउँ जान नै । यो उनीहरूको लागि कोरोना भाइरसको संक्रमणभन्दा बढ्ता असरदार बन्दै थियो । कोरोनाको संक्रमण दिनहुँ बढ्दै गएपछि सरकारले संक्रमण फैलन चेन ब्रेक गर्न भन्दै काठमाडौं उपत्यकासहित देशका ७४ जिल्लामा निषेधाज्ञा लागू गरेका कारण मानिसहरू घरमै थुनिएका थिए । कामकाजविहीन बनेका थिए । काम नभएपछि भोको पेटको सवालले पिर्नु नमीठो यथार्थ पनि ।

 

यस्तै समस्याबाट गुज्रिरहेकी एक प्रतिनिधि पात्र हुन् सावित्री फुयाँल । स्थायी घर दोलखा भई हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएकी उनका ५ छोराछोरी र श्रीमानसहित ७ जनाको परिवार छ । गाउँमा बोर्डिङ स्कुलको सुविधा नभएकोले छोराछोरी राम्रो स्कुलमा पढाउने सपनाले उनीहरूलाई २ वर्षअघि काठमाडौं डोहोर्‍यायो ।

अरुको घरको काम गरी आफ्नो परिवार पाल्दै आएकी उनी निषेधाज्ञाका कारण काममा जान नपाएर ३ महिनासम्म घरमै थुनिनु पर्‍यो । कोरोनाको त्रास अझै कम भएको छैन । तैपनि क्रमिक रुपमा उनी पुरानो लयमा फर्कँदै छिन् ।

No description available.
‘कतिपयले घरको काममा बोलाएका छन् । अझै डर हराएको छैन तर काम गर्नै पर्‍याे के खानु के खुवाउनु ?  घरवालाहरु पनि डराउनुभएको छ । म मास्क लगाएर काम गर्छु’, उनले भनिन् । उनका श्रीमान् छुट्टै सटर लिएर झारफुक गर्ने र जडीबुटी बेच्ने काम गर्दै आएका छन् । ‘रोग यसरी फैलिरहेको सुन्दा एकदमै डर लाग्छ। कुदेर गाउँ जान मन थियो तर यसपाली त गाँउमा झन् धेरै बिरामी भए रे फेरि यता खुलिहाल्यो भने फर्किहाल्नुपर्छ । अर्कोतिर छोराछोरीको पढाइ पनि छ यहाँ अनलाइन कक्षा हुन्छ । अहिले त सबै खुलिसक्यो तर स्कुल, कलेज कहिले खुल्छ थाहा छैन । केटाकेटी एकोहोरिसके । ज्यान कोठाभित्र भए पनि मन भने काममै हुन्छ, व्यवहार र घरायसी चिन्ताले आनन्दको निन्द्रा नआएको त कति भयो कति । काम गरेर खाने बानी परेका कारण खाली हात बस्दा बेचैनी बढ्छ ।’ उनले एक सासमा दुःख ओकलिन् ।

उनी दिनभर कोठामा थुनिएर बस्ता मानसिक दबाबका कारण टाउको दुख्ने गरेको सुनाउँछिन् । निषेधाज्ञाले जीवनभरलाई पुग्नेगरी पाठ पढाएको उनको अनुभव छ । निषेधाज्ञा हुनुभन्दा अगाडि श्रीमानश्रीमती दुवै मिलेर काम गरी घरखर्च धान्ने र जिम्मेवारी बोध गर्दै आएका यो दम्पत्तीलाई निषेधाज्ञाका कारण पर्नुसम्म पीर पर्‍याे । उनी भन्छिन्, ‘निषेधाज्ञा नहुँदा पनि श्रीमानको कमाइ एक दिन राम्रो भयो भने अर्को दिन हुँदैनथियो । ३ महिना बन्द भएपछि फेरि पसलचाहिँ खुलेको छ तर कमाइ छैन । धेरैजसो त दिनभरि गएर सटर कुर्नु मात्र हुन्छ। मैले नै ३/४ ओटा घरमा काम गरेर जसोतसो खर्च पुर्‍याइरहेकी छु । छोराछोरीलाई खाना, नाना, पढाइ खर्च सबै गर्दै आइरहेको छु।’ यसो भन्दै गर्दा आफू पढे लेखेको भए यस्तो दु:ख सहन नपर्ने उनको ठम्याइ छ।

‘बन्दाबन्दी नहुँदा त जसोतसो धानेकै थिएँ, बन्दमा गाह्रो भयो । तर अहिले खुलेपछि काम गर्दै छु । काम नगरी काठमाडौं बस्न गाह्रो हुनेरैछ। सटर र कोठा भाडा गरी १३ हजार त भाडा नै छ । छोराछोरीको स्कुलको शुल्क पनि तिर्नै पर्‍याे, खानेकुरा, स्वास्थ्य, चाडपर्व आउँछ अप्ठ्याराे हुन्छ ।’ उनले दुःख सुनाउँदै सुस्केरा हालिन् ।

 

ठूलो परिवार भएकोले २ वटा कोठा लिएका रहेछन् फुयाँल दम्पत्तीले । अहिले भाडा तिर्न धौधौ परिरहेको छ। जेठी छोरीको त बिहे भयो । माइली छोरी स्नातक तह पढ्दै भाइ पढ्ने स्कुलमा पढाउँदै थिइन् स्कुल नै बन्द भयो । अरु सबै सानै छन् । त्यहीँबाट भए पनि उसका लागि र भाइबहिनीका लागि पकेटखर्च हुन्थ्यो । त्यो पनि बन्द भयो ।

No description available.

छोराछोरीको भविष्यका लागि भनेर आफूहरु दुःखजिलो गरेर हिँडेका यो दम्पत्तीको काम गरेर खान्छु भन्दा गाउँमा मनग्य जग्गा रहेछ । तर उनीहरुले खानुसम्म दुःख र हण्डर खाए । गोजी रित्तो हुँदा तर्किएका आफन्तको व्यवहार होस् या आफूहरुले अध्ययन गर्न नपाएको अवस्था सझिँदा उनको मन अमिलो हुन्छ । ‘जसोतसो गरेर छोराछोरीलाई राम्रो पढाइदिन पाए रयिनको भविष्य उज्यालो बनाइदिन पाए बरु फेरि गाउँ नै गएर बस्थ्यौँ हामी ।’ उनी भन्दै थिइन् ।

गाउँमै काम गरेर बस्न मन पराउने उनीहरु छोराछोरीको भविष्यको लागि भनेर सहर छिरेको रहेछन् । बन्द नभइदिएको भए २/४ पैसा कमाइ हुन्थ्यो, बन्दको कारण बाटो नै रोकियो । यसपालीको कोरोनाले त झन् कति बेला मरिन्छ कि भन्ने अन्योल छ भन्छन् । मुजा परेको निधार अझै खुम्चिएर आँखा सानो पार्दै भन्छिन्, ‘मान्छे पनि कति मरेका ! हिजो छोरीले मोबाइलमा देखाउँदै थिई कस्तो बिजोक भएको ! मैले त हेर्नै सकिनँ । भर्खरका युवकहरू पनि कोरोनाको कारण मरेका । कस्तो रोग हो यो ? न त बिरामीलाई आफन्तले छुन पाउने । न त हेर्न नै ।’

‘यस्तो खुला स्वच्छ हावामा रोग छ, अनि सिलिन्डरमा भरिएको सास लिएर बाँच्नुपर्ने ।’ उनको आँखामा रहेको डर प्रस्ट देखिन्थ्यो ।

उनले कोरोना महामारीअघि कहिल्यै मास्क लगाएको रहेनछिन् । भन्छिन्, ‘यो मास्क पनि मैले त कहिल्यै लगाएको थिइनँ नानी ! सास फेर्नै गाह्रो हुने ।’ यसरी मुख नै थुनेर हिँडेको पनि दुई वर्ष बितिसक्यो भन्दै उनी भन्छिन्, ‘पूरै विश्व नै आतंकित हुने के रोग आयो यस्तो ? बरु यसरी तड्पिनुभन्दा सबै एकैचोटी ध्वस्त भइदिए हुन्थ्यो । उनी निराश थिइन् । कोरोनाको कारण आफन्त पनि बितेका रहेछन् । त्यसकाे पीडा उनीसँग अहिले पनि ताजै छ ।

पोहोरको लकडाउनमा भने उनीहरु यहाँ बस्न गाह्रो भएर गाउँ नै गएका रहेछन् । पछि अलि साम्य भएपछि फर्किँदा साहिँली छोरीको परीक्षा छुटिसकेछ र एक वर्ष यत्तिकै खेर गयो । अहिले पनि त्यस्तै होला भनेर गाउँ नगएको तर पटक–पटक यसरी नै बन्द भइरहने हो भने त यहाँ बस्नै गाह्रो हुने उनी बताउँछिन् ।

‘हामी दिनरात खटेर काम गरेर खाने मान्छेलाई त काम भएन भने यो सहरमा बौलाउनुपर्छ’, उनी बिलौना गर्छिन्, ‘पोहोर गाउँमा हुँदा राहत बाँडेको कुरा सुनेको थिएँ अहिले त केही पाइएन ।’ यसरी नै बन्द भइरह्यो भने यसपाली पनि गाउँ नै जाने विचार रहेछ उनको ।

‘ज्यान बच्यो भने फेरि पढ्दा हुन्छ । तर राम्रो पढेर ज्ञान र पैसा आर्जन गर्नुपर्छ । मैले छोराछोरीबाट देखेको सपना यही हो ।’ उनले छोराछोरीलाई पनि यसै भनेकी रहिछन् ।
तर कोरोनाको त्राससँगै यसरी पटक–पटक लम्बिँदै गएको बन्दाबन्दीको कारण धेरै सावित्रीहरूको सपना टुटिरहेको छ । धेरैले जीवनदेखि नै हरेस खाएका छन् । थाहा छैन यो सिङ्गो मानवजगतलाई नै यसले कहाँ पुर्‍याउँछ । तर हामीले आत्माबल भने बलियो बनाएर महामारीसँग जुध्दै अघि बढ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?