कैलालीमा हतियारसहित वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीमा हतियारसहित वडाध्यक्ष पक्राउ परेका छन् । कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसँगै अन्य एक जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५३ वर्षीय वडाध्यक्ष चौधरी र धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाह रहेका छन् ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका–९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमबार राति उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १ थान, त्यसको कार्टिज १ र पोइन्ट टू–टू १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको हो।

जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा १२ बोर र त्यसको कार्टिज वडाध्यक्ष चौधरीको र पोइन्ट टू–टू र त्यसको गोली शाहको रहेको खुल्न आएको बताइएको छ ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?