कांग्रेस जिल्ला सभापतिहरुको भेला : आज बोल्ने क्रम सकिने, प्रतिवेदन बुझाउने तयारी

लोकपथ
588
Shares

काठमाडौं । महाधिवेशन सुनिश्चितताका लागि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक आज पनि जारी रहेको छ ।

काठमाडौंको ठमेलस्थित यात्री होटलमा जारी बैठकमा जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । सोमबार बाँकी रहेको नेताहरुले आज आफ्नो धारणा राख्नेछन् ।

दिउँसो २ बजेसम्ममा सबैको बोल्ने क्रम सकाउने र प्रतिवेदन तयार गर्ने तयारी भइरहेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले लोकपथलाई जानकारी दिए ।

नेता केसीका अनुसार बैठक सम्पन्न भैसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग त्यस बारेमा छलफल गर्ने र प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको छ ।

‘सम्भवतः आज दिउँसो २ बजेभित्र बोल्ने क्रम सकाएर प्रतिवेदन तयारीको काममा लाग्नेछौँ । आज नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोबारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।’ नेता केसीले भने ।

पार्टीको महाधिवेशन छिटो सम्पन्न गर्न नसकेमा संविधानअनुसार पार्टीको वैधानिकतामाथि नै प्रश्नचिह्न खडा हुने उनको भनाइ रहेको छ । साथै आज पार्टीका वरिष्ठ नेतासहित अन्य पदाधिकारीहरुलाई समेत भेटेर त्यसबारेमा सचेत गराउने र भोलि पार्टी सभापतिलाई त्यसबारेमा जानकारी गराउने कार्यक्रम रहेको उनले बताए ।

‘नेतृत्वले महाधिवेशनको मिति छिट्टै तय गर्न नसकेमा संविधानत् हामी धरापमा पर्दै छौँ ।’ उनले भने- ‘त्यही विषयमा आज वरिष्ठ नेतासहित पदाधिकारीहरुलाई समेत त्यसबारेमा जानकारी गराउने र भोलि पार्टी सभापतिसँग भेटेर महाधिवेशन सुनिश्चितताको लागि प्रतिवेदन बुझाउने छौँ।’

तोकिएको मितिमा पार्टीको महाधिवेशन अनिश्चित भएसँगै सोमबारबाट जिल्ला सभापतिहरुको बैठक जारी छ । विभिन्न ४७ जिल्लाका जिल्ला सभापतिहरुले बैठकमा सहभागिता जनाएका छन् । जसमध्ये ३५ जना भौतिक रुपमा उपस्थित रहेका छन् भने बाँकी १२ जना भर्चुअल माध्यमबाट जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?