केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका नेताहरुको दाबी

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमालेभित्रको अन्तरसंघर्षको किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजिक एक अन्तरक्रियामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तरसंघर्षमा रहेको र अन्तरसंघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमालेभित्रको शक्ति संघर्षका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताए ।

उनले भने, ‘कतिपय पक्षहरुका आन्तरिक समस्याहरु पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो । खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ । र गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ । उहाँहरु निकै चर्को अन्र्तसंर्घषमा हुनुहुन्छ । त्यो अन्र्तसंघर्षले पनि एउटा प्रारुप लिने, त्यसले एउटा किनारा लिइसकेपछि यो सरकारलाई अगाडी बढाउने कुरा अगाडि बढ्छ । एमालेभित्रको शक्ति संघर्ष र कतिपय कारणले यो सरकार ढिलाइ भएको हो । मैले बुझे अनुसार साझा कार्यक्रम पनि सार्वजनिक भइसकेको र अरु कतिपय विषय टुंगिदैँ गएको हुँदाखेरी २/३ दिनभित्रमा सरकारले विस्तारको काम गर्छ ।’

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मन्त्रिपरिषद्को विस्तारमा ढिलाइ हुँदा सरकारले गर्ने काम नरोकिएको बताए । मन्त्री धेरै भएर मात्रै मुलुक बन्ने नभइ मुलुक बन्नका लागि इच्छा शक्ति र कार्ययोजना हुनुपर्नेमा उनको जोड छ । मन्त्री नबन्दा राष्ट्रको खर्च कम भएको उनले टिप्पणी गरे । मन्त्री बन्ने नबन्ने भन्दा पनि सरकारले कसरी र के काम गर्न भन्ने विषय मुख्य भएको भन्दै उनले सरकारले प्राथमिकताको क्षेत्र तोकेर काम गरिरहेको बताए ।

उनले भने, ‘इच्छशक्तिबिना, कार्ययोजनाबिना मन्त्री धेरै भएर मुलुक बन्छ भन्ने कुरा होइन । काम गर्न केहीले रोकेको छैन । मन्त्री नबन्दाखेरी राष्ट्रको खर्च कम भएको छ । मन्त्री कम बनाएर मुलुक चल्छ भने भोलि संविधान संशोधन गरेर थोरै मन्त्री भएको व्यवस्था गरौँला । यति धेरै सांसद चल्न सक्दैन भने थोरै सांसद बनाउँला संविधान संशोधन गरेर । यसले धेरै ठूलो असर गर्दैन । तर असर कसले गर्छ भने सरकारले कसरी काम गर्छ, के गर्छ भन्ने कुरा हो । त्यसका निम्ति हिजो कार्ययोजना लिएर आएका छौँ । पहिलो प्राथमिकता कोरोना नियन्त्रण हो ।’

जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीको अध्यक्ष तहबाट मन्त्रालयको बाँडफाँट गर्न बाँकी रहेको बताए । पार्टीहरु आकारले ठूला साना भएपनि गठबन्धनको सरकार भएकाले समानताको आधारमा मन्त्रालय बाँडफाँट हुनुपर्ने उनले बताए ।

उनले भने, ‘अब शीर्ष नेताज्यूहरुले पार्टीका अध्यक्ष तहबाट मन्त्रालयको बाँडफाँट, गठबन्धन भनिसकेपछि गठबन्धनभित्र पार्टनरहरुको सार्वभौम समानताका कुराहरुलाई स्वीकार गर्दै, पार्टीहरु आकारमा ठूला या साना पनि हुन सक्छन् तर त्यहाँभित्र भावना साना, ठूला होइन त्यसलाई इन्टीग्रेटेड रुपमा लानुपर्छ भन्ने मान्यताका आधारमा मन्त्रालयको बाँडफाँट गर्दाखेरी कुन पार्टीलाई कतिवटा मन्त्रालय हुन्छ यी सबै कुरा दुई/चार दिनमै टुंग्याउने भन्ने छ । त्यो टुंगिइसकेपछि योग्य व्यक्तिलाई जिम्मेवारी दिने भन्ने हुन्छ ।’

नेता श्रेष्ठले दुई/चार दिनभित्रमा मन्त्रालयको भागबन्डा टुंगिने र मन्त्रिपरिषद् विस्तार हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?