एमालेमा अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुनेगरी विधान संशोधन प्रस्ताव तयार

लोकपथ
203
Shares

काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमवार बसेको पार्टीको केन्द्रीय समिति बैैठकले महाधिवेशनबाट अध्यक्ष र केद्रीय सदस्यहरुमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारी पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो । प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २ र सचिवहरु ७ जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय समितिले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको स्पष्ट पारे ।

एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि सो प्रस्तावित विधान आगामी भदौं २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ । प्रवक्ता ज्ञवालीले विधान महाधिवेशन गर्ने स्थायी समितिको प्रस्तावलाई पनि अनुमोदन गरेको जानकारी दिए ।

प्रस्तावित विधान मस्यौदामा महाधिवेशन प्रतिनिधि परिषदको व्यवस्था गरिएको छ भने केन्द्रीय कमिटी, पोलिटव्यूरो र सचिवालय मात्रै रहने व्यवस्था पनि गरिएको छ । स्थायी समिति भने विधानबाट हटाउने प्रस्ताव गरिएको प्रवक्ता ज्ञवालीले बताए । प्रस्तावित विधानमा पाँच वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने, प्रदेश अधिवेशन ४ वर्षमा, ३ वर्षमा जिल्ला अधिवेशन र अन्य कमिटीहरुको अधिवेशनमा २/२ वर्षमा गर्ने पनि प्रस्ताव गरिएको एमालेले जनाएको छ । बैठकले स्थायी समिति बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भनि तयार पारेको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार सो महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक प्रस्ताव मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल नेतृत्वको संगठनात्मक प्रस्ताव मस्यौदा समिति, संगठन विभाग प्रमुख विष्णु पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समिति र नेता रामबहादुर थापा नेतृत्वको सो महाधिवेशन व्यवस्था समिति बनाउने स्थायी समितिको निर्णयलाई पनि अनुमोदन गरेको छ ।

एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व र विधान अधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?