ईपीएलको मुख्य प्रायोजकमा बजाज पल्सर

काठमाडौं। नेपाली क्रिकेटको पहिलो तथा सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी-ट्वान्टी लिग, एभरेस्ट प्रिमियर लिग (ईपीएल)को मुख्य प्रायोजन बजाज पल्सरले गर्ने भएको छ।

आगामी सेप्टेम्बर २५ तारीखबाट शुरू हुने चौथो संस्करणको ईपीएलका लागि बजाज पल्सरले २ करोड ५० लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने पक्का भएको हो। बजाज र ईपीएलबीच सोमवार भएको एक वर्षे सम्झौता अनुसार यो प्रायोजन नेपाली खेलकुद इतिहासकै सर्वाधिक ठूलो प्रायोजन बन्न पुगेको छ।

सोमवार आयोजना गरिएको मुख्य प्रायोजन तथा ट्रफी अनावरण कार्यक्रममा सहभागी हुँदै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, “बजाज पल्सरलाई सधैं नेपाली युवाहरुले माया गरिदिनु भएको छ, त्यस्तै क्रिकेट पनि नेपाली युवाहरुको जोश बनेको छ। यसैले हामी ईपीएलको टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौं।” उनले नेपाली खेलकुदको विकासमा बजाजले सँधै बढुवा दिँदै आएको कारणले देश भरीबाट गुणस्तरीय खेलाडीलाई स्थापित गर्ने उद्देश्य रहेको पनि बताए। “बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि हरदम, हरपल प्रतिबद्ध छ र रहिरहने छ”, उनले थपे।

त्यस्तै कार्यक्रममा ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आगामी संस्करणको ट्रफी अनावरण गरेका थिए। उनले बजाज ब्रान्ड उत्कृष्टताको एक उदाहरण रहेको भन्दै ईपीएलमा पनि सधैं उत्कृष्टताको लागि प्रयास गरिरहेको जानकारी दिए। “यो एसोसिएसनले सबै सरोकारवालाहरुको लागि सफलता र खुशीको धेरै पलहरु ल्याउनेछ”, अख्तरले भने।

त्यस्तै अख्तरले ईपीएल ट्रफीको अनावरण गर्ने क्रममा यस पटकको ईपीएल ट्रफी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ट्रफी बनाउने स्थानबाटै बनाइएको जानकारी समेत गराए। “आईसीसी ट्रफी बनाउने स्थानबाट नै यो ट्रफी बनाइएको हो, नेपाली ढाँचालाई ध्यानमा राखेर यसको डिजाइन गरिएको हो”, अख्तरको भनाई थियो।

बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको चौथो संस्करण आगामी सेप्टेम्बर २५ तारीख देखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ। सो १४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन्। चौथो संस्करणको ईपीएलमा साविक विजेता ललितपुर प्याट्रियट्ससँगै काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लेडिएटर्स र विराटनगर वारियर्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस संस्करणको ईपीएलमा देखिने केही विदेशी स्टार खेलाडीमा पाकिस्तानका शाहिद अफ्रिदी र शोएब मलिक रहेका छन्। त्यस्तै वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेट पनि ईपीएल २०२१ मा सहभागी हुने पक्का भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?