काठमाडौं । बागमती प्रदेशका क्रियाशील पत्रकारका लागि यही साउन २२ गतेदेखि सुरु गरिएको आचारसंहितासम्बन्धी तीनदिने तालिम आइतबार सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउन्डेसनले आयोजना गरेको सो तालिममा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लाका २४ क्रियाशील पत्रकारको सहभागिता थियो ।
तालिममा वरिष्ठ पत्रकार प्राध्यापक रामाकृष्ण रेग्मी, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा सुरेश आचार्य र धर्मेन्द्र झा, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र पत्रकार डिल्लीरमण सुवेदीले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकले पत्रकार आचारसंहिता विश्व परिवेश र नेपाल सन्दर्भ, आचारसंहिता नियमनमा प्रेस काउन्सिलको भूमिका, छापा सञ्चारमाध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामा आचारसंहिताको पालनासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। विभिन्न सञ्चारमाध्यममा कार्यरत क्रियाशील सहभागी पत्रकारले सो तालिम उपलब्धिमूलक भएको बताएका थिए।
तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रेग्मीले अहिलेको इन्टरनेटको युगमा आचारसंहिताको बहस कठिन विषय भएको बताए । उनले कागजको पानामा मात्र सीमित नभएर मोबाइलको स्क्रिनमा सूचना प्रवाह भइरहेको यो आधुनिक युगमा पत्रकारले मात्र नभएर सञ्चारकर्मीले पनि आचारसंहिता पालना गर्नुपर्नेमा बताए । अहिले सन्देश दिने र लिने को हुन् भनेर छुट्याउनै कठिन अवस्था आएको भन्दै उनले त्यसैले पनि पत्रकारको आचारसहिंता अहिले झन बढी सान्दर्भिक भएको धारणा राखेका छन्।
तालिम कार्यक्रमको समापनमा फाउन्डेसनका अध्यक्ष सरु सुवेदीले प्रशिक्षक, प्रशिक्षार्थी र सहयोगी संस्थालाई धन्यवाद दिँदै यस कार्यक्रमबाट आफूले पनि पत्रकारिताको आचारसंहिताको कति धेरै महत्व रहेछ भन्ने कुरा बुझ्ने अवसर पाएको बताइन्।
यसअघि सो संस्थाले प्रदेश नं १ का पत्रकारलाई विराटनगरमा र २ को जनकपुरमा यही तालिम सम्पन्न गरिसकेको छ । त्यसैगरी गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पत्रकारका लागि भने भर्चुअल विधिबाट तालिम सम्पन्न भएको सो फाउन्डेशनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया