राष्ट्रिय टोलीको बन्द प्रशिक्षण अब पोखरामा

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा हुने भएको छ।

साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप पहिलो चरणको क्वालिफायर खेलहरुलाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण जुलाईको पहिलो सातादेखि काठमाडौंको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा हुँदै आएको थियो। तर साफ च्याम्पियनसिप तोकिएको समयभन्दा पछाडी धकेलिएको कारणले राष्ट्रिय टोलीलाई १० दिनको आराम दिइएको थियो।

सोहीअनुसार दोस्रो चरणको बन्द प्रशिक्षण पोखरामा बुधबारदेखि सुरू हुन लागेको हो । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डाकेका ५० जनाको प्रारम्भिक टोलीबाट १४ खेलाडी यसअघि नै बाहिरिएका थिए। बाहिरिएका १४ खेलाडीमध्येका शिशिर लेखी, सेसेहङ आङदेम्बे र गोलरक्षक विशाल सुनार भने पुनः टोलीमा फिर्ता बोलाइएका छन्। उनीहरूले पोखरामा एरिक विष्ट र प्रकाश बुढाथोकीलाई प्रतिस्थापन गर्नेछन्।

त्यस्तै प्रारम्भिक टोलीमा नदेखिएका नेपालका अनुभवी खेलाडी विक्रम लामा र रोहित चन्दले पनि पोखरामा प्रशिक्षण गर्नेछन्। रोहित इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका कारणले सुरुवाती बन्द प्रशिक्षणमा देखिएका थिएनन्। त्यस्तै लामो इन्जुरीपछि पुनरागमन गर्ने तयारीमा रहेका विक्रम लामाले बन्द प्रशिक्षणमा शानदार प्रदर्शनी गरेपछि उनलाई पनि टोलीमा समावेश गरिएको हो।

पोखरामा प्रशिक्षण गर्ने खेलाडी

गोलरक्षक: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार

डिफेन्डर: रजिन धिमाल, सुमन अर्याल, रन्दिप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर: सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटि, विशाल राई, सन्तोष तामाङ, संजोग राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, मनिष डाँगी, आयुष घलान, सेसेहङ आङदेम्बे, शिशिर लेखी

फरवार्ड: सुनिल बल, जर्ज प्रिन्स कार्की, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल

 

(तस्वीर: एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?