युभेन्टसलाई पराजित गर्दै मेस्सीबिनाको बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

काठमाडौं। इटालियन क्लब युभेन्टस र मेस्सीबिनाको स्पेनिश क्लब बार्सिलोनाबीच गएराति भएको जोन ग्याम्पर ट्रफीअन्तर्गतको खेलमा बार्सिलोनाले ३-० गोलको सहज जित निकाल्न सफल भएको छ।

बार्सिलोनाले यसै वर्षदेखि आयोजना गरेको यस ट्रफीअन्तर्गतको खेलमा बलियो टोली युभेन्टसमाथि सहज जित निकाल्न सफल भएको हो। आफ्ना कप्तान तथा लेजेण्ड लियोनल मेस्सीले दुई दशकपश्चात् क्लब छाडेकै दिन बार्साले खेलमा जित निकाल्न सफल भएको हो।

बार्साले आइतवार दिउँसो मेस्सीलाई बिदाई कार्यक्रम आयोजना गर्दा रुवाबासी भएको थियो। तर शनिबार राती नै खेलिएको खेलमा भने बार्साका खेलाडीले उत्कृष्ट प्रदर्शनी देखाए। आफ्नो अग्रपंक्तिमा रोनाल्डोलाई उतारेको युभेन्टसले खेलमा कुनै गोल गर्न सकेन।

बार्साको अभ्यास मैदान योहन क्राइफ मैदानमा भएको खेलको तेस्रो मिनेटमा नै बार्सिलोनाका नयाँ खेलाडी मेम्फिस डिपाएले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले अग्रता लिएको बार्साले दोस्रो हाफमा अरु दुई गोल गर्न सफल भयो।

खेलको ५७औं मिनेटमा बार्सिलोनाका स्ट्राइकर मार्टिन ब्रैथवेटले बार्साका लागि दोस्रो गोल गर्न सफल भए। निर्धारित ९० मिनेटको खेल सक्किन मात्र केही सेकेन्ड बाँकी रहँदा बार्सिलोनाले तेस्रो गोल गर्न सफल भयो। यस पटक बार्साका युवा खेलाडी रिकार्ड पुइगले गोल गर्दै घरेलु टोलीलाई ३-० गोलको जित दिलाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?