रामेश्वर सापकोटा
जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर समूह निर्वाचन आयोगले अर्को समूह अर्थात उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि जिल्ला दौडाहामा छ ।
जसपामा अहिले सबैभन्दा अप्ठ्यारो अवस्थामा कोही छ भने भनृ ती ठाकुर नै हुन् । ब्यावहारिक रुपमा अहिले ठाकुर पार्टी बिहिन अवस्थामा छन् । पार्टीको आधिकारिकता बिवादमा साउन ११ मा आयोगले यादवलाई पक्षलाई आधिकारिकता दिएको थियो । यद्यपि ठाकुरले त्यसविरुद्ध सर्वाेच्चमा अन्तरिम आदेश माग गर्दै मुद्धा हालेका थिए । तर सर्वाेच्चले अन्तरिम आदेश भने दिएन । तथापि मुद्धा भने सर्वाेच्चमा विचाराधीन छ । ठाकुर समूह विभिन्न जिल्लामा पार्टीको समानान्तर गतिबिधि गर्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विबाद चर्किएपछि जसपा विभाजनमा पुगेको हो । उपेन्द्र यादव पक्ष ओलीले पहिलो र दोस्रोपटक प्रतिनिधि सभा विघटन गर्दा (२०७७ पुस ५ र २०७८ जेठ ७ मा ) त्यसको विरोधमा रह्यो भने ठाकुर पक्षले पहिलो पटकको विघटनको विरोध गरेपनि दोस्रो पटकको विघटनलाई भने समर्थन गर्यो ।
यादव पक्ष भने आफ्नो अडानमा कायमै रह्यो र कांग्रेस सहितको विपक्षी गठबन्धनमा सामेल भयो । ठाकूर समूह ओलीको कदमको समर्थन गर्दै पार्टीमा बिवादका बाबजुद गत जेठ २१ र २७ मा सत्तामा गयो ।
प्रतिनिधि सभा विघटन गरेपछिको काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध परेको रिटमा सर्वाेच्चले असार ८ मा मन्त्रिपरिषद विस्तार बदर गरिदियो । असार २८ मा सर्वाेच्चले प्रतिनिधि सभा पुनःस्थापित गर्ने फैसला मात्रै गरेन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्यो । असार २९ मा देउवा प्रधानमन्त्री बने । जसपा विवाद त्यतिबेला उत्कर्षमा पुगेको थियो । कसले आधिकारिकता पाउने ठाकुर या यादवले भन्ने विषयको निक्र्याैल गर्ने जिम्मा आयोगले पाएको थियो । पार्टीको बहुमत केन्द्रीय कार्यकारिणी सदस्य यादवको पक्षमा उभिए । ठाकुर समूह अल्पमतमा परयो । आधिकारिकता यादव पक्षले पायो ।

यसपछि रन्थनिएको ठाकुर पक्ष पार्टीको अगुवा कार्यकर्ता भेला भन्दै अहिले कार्यकर्तालाई आफूसँगै टिकाइराख्न तराइका विभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् । सर्वाेच्चमा परेको मुद्धा विचाराधीन रहेकाले ठाकुर पक्षले जसपाकै नामबाट कार्यकर्ता भेला गरिरहेको छ ।
तर यादव पक्षले यसमा असन्तुष्टि जनाएको छ । यादव पक्षका नेता महेन्द्र राय यादव भन्छन्, ‘पार्टीको नीति र हित विपरित जान कसैलाई अधिकार छैन,ठाकुर समूह तराई मधेशका जनतालाई भ्रममा पार्न खोज्दैछन् । पार्टीको हित विपरित जानेलाई कारवाही हुन्छ ।’
ठाकुर समूहले गत शुक्रबारबाट तराइका जिल्लामा सामानान्तर कार्यक्रम गर्न थालेका हुन् । आज पनि उनीहरुले विभिन्न जिल्लामा कार्यकर्ता भेला गरेका थिए । यो दौडाहालाई धेरैले मधेसमा उपेन्द्र यादवलाई महन्थको ‘काउण्टर’को रुपमा पनि लिएका छन् । जिल्ला दौडाहामा रहेका ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले सबै कार्यकर्ताले पार्टी एकताकै पक्षमा आवाज उठाएको र त्यसका लागि उपेन्द्र यादवको अवसरवादी चरित्रमा सुधार गर्न जोड दिएको लोकपथसँग बताए ।
ठाकुर पक्षले जिल्लाका कार्यकर्तासँग उपेन्द्र यादवले पार्टी कब्जा गर्न खोजेको र मधेशका मुद्धालाई ओझेलमा पार्न खोजेका आरोप लगाएको छ । झाले शीर्ष नेताहरु रातारात मिलेर पार्टी एकता गरेको र फेरि पनि पार्टीलाई एक बनाइराख्न शीर्ष नेताहरुकै सहमति आवश्यक भएकोले भरिसक्य मिलेर जान सुझाव दिएको पनि बताए ।
कतिपयले ठाकुर पक्षको कार्यकर्ता भेलालाई नयाँ पार्टी खोल्नका लागि कार्यकर्ताको भावना बुझ्न लागेको भन्ने अर्थमा पनि हेरेका छन् । तर नेता झा भने तराइ मधेशका जनताको भावना मिलेरै जानुपर्छ भन्ने रहेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया