निर्देशकले महानिर्देशकको हाजिर गर्न रोकेपछि

काठमाडौँ, २२ चैत- सुन्दा अचम्म लाग्छ, तल्लो तहको कर्मचारीले माथिल्लो तहको कर्मचारीलाई हाजिर गर्न रोक लगाउँछ भनेर । तर, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक भएर करिब एक वर्ष देशभरका करिब ३२ हजार स्वास्थ्यकर्मीको प्रमुख बनिसकेका डा. राजेन्द्रप्रसाद पन्तले बुधबार निकै सास्ती खेप्नुप-यो । पछिल्लो समयमा निकै विवादित राष्ट्रिय क्षयरोग केन्द्र थिमिमा काज फिर्ता भई हाजिर हुन गएका डा. पन्तलाई उनीभन्दा एक तहमुनिका निमित्त निर्देशकले हाजिर गर्न नदिएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे ।केन्द्रका निर्देशक डा. केदारनरसिंह केसी उमेर हदका कारण मंगलबारदेखि सेवा निवृत्त भएपछि डा. पन्त बुधबार एकाएक राष्ट्रिय क्षयरोग केन्द्रमा ‘निर्देशक’ बन्न पुगेका थिए । उनी केन्द्रमा २०७०÷७१ सालताका निर्देशक थिए । निर्देशक डा. केसी सेवा निवृत्त भएको भोलिपल्टदेखि कानुनतः वरिष्ठताको आधारमा केन्द्रका १०औं तहका वरिष्ठ कन्सल्ट्यान्ट चेस्ट फिसिजसियन डा. मोहन प्रसार्इं निमित्त निर्देशक बने । तर, केन्द्रका ३ वर्षअघिका निर्देशक डा. पन्त एकाएक केन्द्रमा ‘आफैं निर्देशक भएको’ भन्दै सिधंै निर्देशक बस्ने कोठामा छिरेर केही बेर बसेका थिए । तर, निमित्त निर्देशक डा. प्रसाईंले केन्द्रको हाजिरकापी आफ्नो कार्यकक्षमा राखेका कारण डा. पन्तले हाजिर गर्न पाएनन । केन्द्रमा डा. प्रसाईं वरिष्ठताका आधारमा स्वतः निमित्त निर्देशक र डा. पन्त स्वघोषित निर्देशक बनेर आएका कारण एकै समयमा दुईजना निर्देशक भेटेपछि केन्द्रका कर्मचारी भने कसलाई ‘हाकिम’ मान्ने भनेर अलमलिएका थिए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?