सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न माग

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रियसभाकी सदस्य (सांसद) नन्दा चपाईले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद चपाईले निःशुल्क पाइने औषधिहरुको सूची आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराइन् ।

उनले भनिन्, ‘केही औषधिहरु निःशुल्क पाइन्छ भन्ने सुनिन्छ । तर कहाँ र कसरी पाइन्छ ? जनतालाई जानकारी छैैन । भएका निःशुल्क पाइने औषधिहरु पनि समय अवधि सकिएर डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–त्यस्ता निःशुल्क पाइने औषधिहरुको सूचीसहितको नामाकरण जनताले थाहा पाउने गरी जानकारी गराइयोस् ।’

सांसद चपाईले दुर्गम क्षेत्रका जनताका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिइन् । उनले सडकलगायतका भौतिक पूर्वाधारको अभावमा दूर्गम क्षेत्रका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?