बाँके । बाँकेमा अवैध हतियारले सुरक्षा चुनौती बढाएको छ । ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ ।
खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
खुला सिमाना रहेकाले बाँकेमा भारतबाट अवैध रुपमा साना हतियार ल्याएर आपाराधिक घटना घटाउने र यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने गरेको पाइएकाले त्यसलाई निस्तेज पार्न सुरक्षाकर्मी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
उनका अनुसार तीन दिनअघि मात्रै बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिका–६ दोन्द्रा गाउँमा अवैध हातहतियारको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा भरुवा बन्दुक, त्यसमा लाग्ने तीन थान छर्रा र कटुवा पेस्तोलसहित छोटेलाल राढलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले अवैध हतियार कारोवारमा संलग्न व्यक्तिलाई आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियारसहित पक्राउ गर्ने गरेको छ । पक्राउ गरेका व्यक्तिलाई दर्ता गरेको मुद्दाका आधारमा पनि बाँकेमा अवैध हतियारको कारोवार वर्षेनी बढ्दै गएको पाइएको छ ।
बाँकेमा विगत तीन वर्षको अवधिमा हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको छ । यहाँस्थित नेपाल–भारत अन्तर्राष्टिय सीमा जमुनाह नाका औपचारिक रुपमा बन्द रहेको समयमा समेत अवैध हतियार बरामद हुने र त्यससम्बन्धी दर्ता हुने मुद्दा बढेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया