जनताका पिरमर्का बुझेर काम गर्छु : मुख्यमन्त्री पोखरेल

लोकपथ
52
Shares

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताएका छन्।

उनले पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए।

शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताए।

अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी दिए।

नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो। उनले नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने बताए। मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उनको भनाइ थियो।

मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?