बाढीपीडितलाई राहत वितरणमा ढिलाइ भएको भन्दै प्रचण्डको असन्तुष्टि

लोकपथ
221
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यसवरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरु त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईंहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्दछ ।’

प्रचडले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष दाहालले नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुनसक्ने दाबी गर्दै त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?