टोकियो ओलम्पिक : आज अन्तिम दिन, चीनलाई स्वर्ण पदक तालिकामा उछिन्ने अमेरिकालाई ठूलो अवसर

काठमाडौं। जुलाई २३, २०२१ देखि सुरु भएको ३२औं ओलम्पियाड तथा टोकियो ओलम्पिक २०२० आज, अगस्ट ८ २०२१ मा औपचारिक रूपमा अन्त्य हुँदै छ।

११ हजारभन्दा बढी प्रतिस्पर्धीले ३३९ स्पर्धामा १०१७ पदकका लागि यस पटकको ओलम्पिकमा प्रतिस्पर्धा गरेका छन्। जसमध्ये अहिलेसम्म संयुक्त राज्य अमेरिकाले ३६ स्वर्ण पदक, ३९ रजत पदक तथा ३३ काश्य पदकसहित जम्मा १०८ पदक जित्न सफल भएको छ।

त्यस्तै चीनले अन्तिम दिनसम्मको प्रतिस्पर्धामा सर्वाधिक स्वर्ण पदक जितेको छ। चीनले जितेको जम्मा ८७ पदकमध्ये ३८ स्वर्ण, ३१ रजत र १८ काश्य पदक रहेका छन्। सुरुवाती दिनदेखि नै स्वर्ण पदकको दौडमा सबैभन्दा अगाडि रहेका यी दुई राष्ट्र आज अन्तिम दिनसम्म पनि कडा प्रतिस्पर्धा गरिरहेका छन्।

अमेरिकाले पछिल्ला केही दिनमा फिल्ड तथा ट्रयाक स्पर्धामा धेरै स्वर्ण पदक जित्दै चीनसँगको दूरी कम गर्दै आएको छ। यी दुई राष्ट्रपछि सर्वाधिक स्वर्ण पदक जित्ने राष्ट्र रहेको छ, आयोजक राष्ट्र जापान। जापानले टोकियो ओलम्पिकमा २७ स्वर्ण, १२ रजत तथा १७ काश्य पदक जित्दै कुल ५६ पदक जितेको छ। त्यस्तै चौथो नम्बरमा रहेको ग्रेट ब्रिटेनले २१ स्वर्ण, २१ रजत तथा २२ काश्य पदक जितेको छ।

 

स्वर्ण पदकको रेस

निकै नै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको स्वर्ण पदक रेसमा चीन अहिलेसम्म पहिलो नम्बरमा रहेको छ। चीनलाई पछ्याउँदै गरेको अमेरिका भने मात्र दुई स्वर्ण पदकले पछाडि रहेको अवस्था छ।

तर अन्तिम दिनको पदक खेलको तालिका हेर्ने हो भने, अमेरिकालाई सर्वाधिक स्वर्ण पदक जित्ने ठूलो अवसर रहेको देख्न सकिन्छ। अन्तिम दिनको पदक खेलमा अमेरिका ४ स्वर्ण पदकका लागि भिड्दै छ। उता चीन भने अन्तिम दिनको खेलमा मात्र १ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्दैछ।

संयुक्त राज्य अमेरिका

१) महिला बास्केटबल फाइनल
प्रतिद्वन्दी: जापान

२) पुरुष लाइट ५७-६३ केजी बक्सिङ फाइनल
प्रतिद्वन्दी: क्रुज एन्डी (क्यूबा)

३) पुरुष हेभी +९१ केजी बक्सिङ फाइनल
प्रतिद्वन्दी: जालोलोभ बाखोदिर (उज्बेकिस्तान)

४) महिला भलिबल फाइनल
प्रतिद्वन्दी: ब्राजिल

 

चीन


१) महिला मिडल ६९-७५ केजी फाइनल
प्रतिद्वन्दी: प्रिन्स लौरेन (ग्रेट ब्रिटेन)

चीन र अमेरिकाबीचको स्वर्ण पदक दौड निकै रोमाञ्चक मोडमा पुगेको छ। अन्तिम दिनको खेल समाप्त हुँदासम्म कसको तराजु भारी हुने हो ? कौतुहलताको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?