टोकियो ओलम्पिक: भारतका निरज चोपडाले रचे इतिहास, ज्याभेलिन थ्रोमा जिते स्वर्ण

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत ट्रयाक तथा फिल्ड इभेन्ट विधाको ज्याभेलिन थ्रोमा भारतका निरज चोपडाले स्वर्ण पदक जितेका छन्।

२३ वर्षीय भारतीय चोपडाले आफ्नो दोस्रो थ्रोमा ८७.५८ मीटरको ज्याभेलिन प्रहार गरेका थिए। शनिवार सम्पन्न फाइनल खेलमा भारतका निरजले आफ्नो पहिलो र दोस्रो थ्रोमा नै ८७ मीटरको मार्क तोडेका थिए। अन्य प्रतिद्वन्दीले निरजको पहिलो मार्क पनि बिट गर्न सकेनन्।

ट्रयाक तथा फिल्ड इभेन्टमा भारतको ओलम्पिक इतिहासमै पहिलो स्वर्ण पदक जितेका निरज व्यक्तिगत विधातर्फ स्वर्ण जित्ने मात्र दोस्रो भारतीय खेलाडी बन्न पुगे। यसअघि बेइजिङ ओलम्पिक २००८ मा भारतका अभिनव विन्द्राले शुटिङमा स्वर्ण पदक जितेका थिए।

निरजको यस ऐतिहासिक जितसँगै भारतले टोकियो ओलम्पिक २०२० मा जम्मा ७ पदक जित्न सफल भएको छ। यसअघि लन्डन ओलम्पिक २०१२ मा भारतले ६ पदक जित्न सफल भएको थियो। निरजले अब टोकियो ओलम्पिकको क्लोजिङ सेरेमनीमा भारतको झण्डा बोक्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?