बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा आउँदै

लोकपथ
169
Shares

काठमाडाैं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ ।

बिहान २ बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो ।

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा शनिवार बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

‘बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लास्टिकजस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको हो,’ डीएसपी बुढाथोकीले भने ।

आगलागी शुरू भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उनको भनाइ छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाका ९ दमकल प्रयोग गरिएका छन् । २५ ट्यांकरले निरन्तर पानी ओसारपसार गरिरहेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । १ अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढंगले जान लागेका बेलामा शनिवार बिहान एक्कासी आगलागी भएको हो ।

नेबिको प्रालिका ब्राण्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले केकति क्षति भयो भन्नेबारे यकीन तथ्यांक निकाल्न नसकिएको बताउँछन् । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो ।

आगो तिनतिरबाट नियन्त्रणमा लिने प्रयास भइरहेको छ । ३०० भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि केकति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?