म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनर्निर्माण भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विक्रम संवत् २०७२ सालको भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ वटा विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए ।
‘१०५ विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ वटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो,’ उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ वटा खानेपानी पुनर्निर्माण सकिएको छ ।’ ३० वटा २ कोठे, १० वटा ३ कोठे, ४८ वटा ४ कोठे भवन पुनर्निर्माण भएको छ । ३५ वटा भवन गत आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सकिएका हुन् ।
गत वर्ष ३७ वटा ४ कोठे, ३ वटा ३ कोठे, १० वटा २ कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो । गत आवमा २४ वटा ४ कोठे, १ वटा ३ कोठे र १० वटा २ कोठे भवन निर्माण सकिएका छन् । ४५ शौचालय र २५ वटा खानेपानीका योजना निर्माण भएको छ ।
गत वर्ष सम्झौता भएका १७ वटा भवन, ५ वटा शौचालय र २ वटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । १३ वटा ४ कोठे, २ वटा ३ कोठे र २ वटा २ कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।
१ वटा ४ कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रंगरोगन गर्ने अवस्थामा रहेका एकाइका इन्जिनीयर विष्णु रिजालले बताए । आव २०७७÷७८ मा ३० शौचालय र २७ वटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । ५ शौचालय र २ खानेपानीका योजना निमाणाधीन अवस्थामा छन् ।
आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विक्रम संवत् २०७६ साउन १ गते जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया