टोकियो ओलम्पिक: आयोजक राष्ट्र जापानलाई पराजित गर्दै मेक्सिकोले जित्यो फुटबलमा काश्य पदक

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबल विधातर्फ मेक्सिको अण्डर-२३ ले जापान अण्डर-२३ लाई पराजित गर्दै काश्य पदक जितेको छ।

साइटामा स्टेडियममा शुक्रवार खेलिएको तेस्रो स्थानको खेलमा मेक्सिकोले आयोजक राष्ट्र जापानलाई ३-१ गोलले पराजित गर्न सफल भएको थियो। पहिलो हाफको १३औं मिनेटमा नै पेनाल्टी मार्फत अग्रता लिएको मेक्सिकोको टोलीले पहिलो हाफकै २२औं मिनेटमा दोस्रो गोल गर्न सफल भएको थियो।

पहिलो हाफमा २-० गोलले पछि परेको घरेलु टोली जापानले दोस्रो हाफमा शानदार फुटबलको नमुना पस्कियो। ५८ प्रतिशत बल पोसेसन राख्दै कुल २१ शट प्रहार गरेको जापानले खेलमा हैकम जमाए पनि मेक्सिकोले तेस्रो गोल थप्न सफल भएको थियो।

खेलको ५८औं मिनेटमा उत्तरी अमेरिकी टोली मेक्सीकोले ३-० गोलको अग्रता बनाउन सफल भएको थियो। जापानले खेलमा पुनरागमन गर्ने निकै प्रयास गर्दा १ गोल मात्र फर्काउन सफल भयो।

जापानका लागि काओरु मिटोमाले खेलको ७८औं मिनेटमा गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेलमा अन्य कुनै गोल हुन नसक्दा मेक्सिको अण्डर-२३ ले काश्य पदक जितेको हो। पुरुष फुटबल अन्तर्गत स्वर्ण पदकको लागि आज शनिवार ब्राजिल अण्डर-२३ र स्पेन अण्डर-२३ प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?