टोकियो ओलम्पिक: महिला फुटबलमा क्यानडालाई स्वर्ण, स्वीडेन पराजित

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ क्यानडाले स्वीडेनलाई पेनाल्टी शूट-आउटमा ३-२ गोलले पराजित गरेको छ।

जापान नेशनल स्टेडियममा शुक्रवार सम्पन्न फाइनल खेलमा क्यानडा र स्वीडेन दुवैले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी शूट-आउटतर्फ धकेलिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिँदासम्म दुवै टोलीबाट निर्णायक गोल आउन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टी शूट-आउटतर्फ गएको हो।

पहिलो हाफको ३४औं मिनेटमा स्वीडेनले अग्रता लिएको थियो। स्वीडेनका लागि स्टिना ब्लाकस्टेनियसले खेलको ३४औं मिनेटमा गोल गरेकी थिइन्। शुरुवाती ४५ मिनेट स्वीडेनले आफ्नो पक्षमा राख्न सफल भएको थियो। तर खेलको ६७औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो।

क्यानडाका लागि जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्याएकी थिइन्। त्यस पश्चात् दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेलको नमुना पसकिए पनि अर्को गोल भने थप्न सकेन। थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि अर्को गोल हुन नसक्दा विजेताको टुङ्गो पेनाल्टी शूट-आउटबाट गरिएको थियो।

यस जितसँगै क्यानडाले ओलम्पिक महिला फुटबलमा आफ्नो पहिलो स्वर्ण पदक जितेको छ। त्यस्तै स्वीडेनले रजत पदक जित्दा संयुक्त राज्य अमेरिकाले काश्य पदक जित्न सफल भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?