राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन अर्थमन्त्रीको निर्देशन

लोकपथ
42
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।’ उनले भने ।

मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए ।

‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन ।’,मन्त्री शर्माले भने,‘मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?