बेलायतमा फेरि बढे कोरोना संक्रमित, अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाइ

लोकपथ
130
Shares

काठमाडौं । बेलायतमा फेरि पनि कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति संक्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ अहिलेसम्मका संक्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो संख्यामा संक्रमण देखिएकाले अबका केही दिनमा यहाँ संक्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका संक्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ । सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरुमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरुको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

उक्त संस्थाले बुधबार जारी गरेको विज्ञप्तिमा कोभिडको संक्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?