नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ।

आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले संयुक्त राज्य अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दै छ। सोही शृंखलाको लागि अभ्यास स्वरूप नेपाल र पीएनजीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले पीएनजी र नेपाल दुई एकदिवसीय खेलका लागि तयार भएको र मात्र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट अनुमति आउन बाँकि रहेको जानकारी दिएको छ। नेपाल र पीएनजीबीचको खेल ओमानमा हुने भएको छ।

पीएनजीविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु भइसकेको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले डाकेका १९ सदस्सीय राष्ट्रिय टोलीको प्रशिक्षणमा गुलशन झा पहिलो पटक समावेश हुन सफल भएका छन्।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?