टोकियो ओलम्पिक: अस्ट्रेलियालाई पराजित गर्दै बेल्जियमले जित्यो हकीमा पहिलो स्वर्ण, भारत तेस्रो

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष हकीतर्फ अस्ट्रेलियालाई पराजित गर्दै बेल्जियमले स्वर्ण पदक जितेको छ।

बिहीवार सम्पन्न फाइनल खेलमा बेल्जियमले अस्ट्रेलियालाई शूट-आउटमा ३-२ गोलले पराजित गर्दै ओलम्पिक हकीमा पहिलो स्वर्ण पदक जितेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा अन्त्य हुँदा दोस्रो हाफको शुरुवातमै बेल्जियमले अग्रता लिन सफल भएको थियो।

तर खेलको ६०औं मिनेटमा अस्ट्रेलियाले बराबरी गोल गर्दै खेलमा पुनरागमन गरेको थियो। खेलमा त्यसपछि कुनै गोल हुन नसक्दा खेल शूट-आउटतर्फ गएको थियो।

शूट-आउटमा बेल्जियमका गोल रक्षक भिन्सेन्ट भनास महानायक बन्न पुगे। उनले अस्ट्रेलियाको तीनवटा प्रहार बचाएका थिए। यस जितसँगै रियो ओलम्पिक २०१६ को उप-विजेता बेल्जियमले हकीमा पहिलो ओलम्पिक स्वर्ण पदक जित्न सफल भएको छ।

त्यस्तै बिहीवार नै सम्पन्न काश्य पदकको खेलमा भारतले जर्मनीलाई ५-४ गोलले पराजित गर्दै तेस्रो स्थान ओगटेको छ। निकै नै प्रतिस्पर्धात्मक खेलमा भारतले जर्मनीलाई पराजित गर्दा ओलम्पिकमा ४१ वर्षपछि पदक जित्न सफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?