टोकियो ओलम्पिक: भारतका रवि कुमारले जिते कुश्तीमा रजत

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ५७ केजी फ्रि-स्टाइल कुश्ती विधातर्फ भारतका रवि कुमार दहियाले रजत पदक जितेका छन्।

बिहीवार सम्पन्न फाइनल खेलमा रवि कुमार रसियन ओलम्पिक कमिटीका जभुर उगुवेभसँग पराजय हुँदा रजत पदक जितेका हुन्। दुवै प्रतिद्वन्दीबीच भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा उगुवेभले पहिलो बाउट जित्न सफल भएका थिए। उगुवेभले रविलाई दुई पटक खेल क्षेत्रबाट बाहिर धकेल्दा पहिलो चरणमा २-० को अग्रता लिन सफल भएका थिए।

दोस्रो चरणमा रविले शानदार पुनरागमन गर्दा अंक २-२ को अवस्थामा पुगेको थियो तर त्यस पश्चात् उगुवेभले तुरुन्तै अर्को दुई अंक प्राप्त गरेका थिए। रविले खेलको अन्तिम सेकेन्डसम्म पनि पुनरागमन गर्ने प्रयास गरे पनि दोस्रो चरणको खेल ४-२ अंकमा अन्त्य भएको थियो।

उगुवेभले रविलाई पुनः खेल क्षेत्र बाहिर धकेल्दा ७-२ को अग्रता लिन सफल भएका थिए। रविले पनि दोस्रो पिरियडमा अर्को दुई अंक बटुल्दै ७-४ को अंक बनाउन सफल भएका थिए। खेलको अन्तिम अंक यही नै रहँदा रविले ७-४ को हार बेहोरेका हुन्।

यस पदकसँगै ओलम्पिक कुश्तीमा भारतको लागि पदक जित्ने रवि कुमार पाँचौ खेलाडी बन्न सफल भएका छन्। त्यस्तै यस ओलम्पिकमा भारतको पदक संख्या पनि पाँच पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?