ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो – नेता नेपाल

लोकपथ
377
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ। केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने।

सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ। अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन। उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन्।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए।

नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुनिएको छ। हामीले के गर्ने, त्यसअघि नै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने। उनले एकताको प्रयास दुवै पक्षबाट भएको बताए। ‘हामी सबै एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ। ‘एकताकै लागि केपी ओलीका मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गर्छन् तर सहमतिमा भने पुगिएको छैन’, नेपालले भने। उनकै भनाइमा टेकेर केन्द्रीय सदस्य ठाकुर गैरेले चैतमा भएको कार्यकर्ता भेलाले लिएको निर्णयमा कुनै फेरबदल नआएकाले त्योभन्दा बाहिर जान नहुने बताए। ‘गत चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटी बैठकले दिएको निष्कर्षकै जगमा हामी छौं । त्यो आजसम्म फेरिएको छैन। हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने कुरा कहीं छैन’, उनले भने।

केन्द्रीय सदस्य अरूण नेपालले एमाले देशकै सर्वाधिक ठूलो र संगठित शक्ति भएको बताउँदै यो शक्ति फुट्यो भने यसबाट एमालेमात्र नभई सिंगो राजनीतिक क्षेत्र प्रभावित हुने बताए। ‘पहिलो असर संविधानमा पर्छ। हामी फुट्दा, कमजोर हुँदा लोकतन्त्र, गणतन्त्रविरोधीले संविधानमाथि आक्रमण गरेर ध्वस्त बनाउने कोसिस गर्छन् । दोस्रो, विशिष्ट कारणले सत्ता कांग्रेसको हातमा गए पनि सर्वाधिक ठूलो शक्ति वामपन्थी मिले भने सत्ता उनीहरूकै हातमा हुन्छ र वामपन्थीले जे भन्छन्, त्यही हुने अहिले पनि स्थिति छ।

वामपन्थीमध्येको ठूलो शक्ति एमाले फुट्दा वाम शक्ति कमजोर हुन्छ र त्यो स्पेसमा अगाडि आउने दक्षिणपन्थी शक्तिले देशलाई दुर्घटनामा लैजान सक्छन्’, उनले भने। उनले दस बुँदे प्रस्ताव दुवै पक्षको सम्झौता भएकाले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताउँदै यसैलाई आधार बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले दुई अध्यक्षको प्रस्ताव विधान संशोधन गरेर कार्यान्वयन गर्नुपर्ने बताए।

विजय पौडेलले प्रतिगमन गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने बताए। उनले एकता गर्दा पावर सेयरिङमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। रामकुमारी झाँक्रीले एकता आत्मसम्मानसहितको नभए त्यसको अर्थ नहुने बताइन्। ‘पार्टी एकताको विषय महत्वपूर्ण हो तर आत्मसम्मान त्यागेर एकता सम्भव छैन’, उनले भनिन्। उनले कार्यदलका सदस्यहरूप्रति आक्रोश व्यक्त गरिन्। ‘स्थायी कमिटीका नेताहरूले कहाँ गएर केके छलफल गर्नुहुन्छ, त्यसकै आधारमा भएका सबै निर्णय मान्य हुन्छन भन्ने छैन ।

हामी आफ्नै समूहभित्र एकताबद्ध हुनुपर्छ। समूहभित्र पनि लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनुपर्छ। नत्र निर्णय स्वीकार्य हुँदैन। एकता प्रक्रियाका विषय र अजेन्डामा स्थायी कमिटी सदस्यहरूको रायका आधारमा मात्रै चल्ने काम बन्द गरौं’, उनले भनिन्। पहिलो दिनको बैठकमा झपट रावल, बलराम बाँस्कोटा, सावित्रा भुसाल, शेरबहादुर केसी, अनु नेपाल, चूडामणि जंगली, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले पनि बोलेका थिए। उनीहरूले सम्मानजनक एकताका पक्षमा धारणा राख्नै एकताको पहल गर्ने जिम्मा अध्यक्ष ओलीकै भएको बताएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?