पतन भयो मेस्सी र बार्सिलोनाबीचको सम्झौता नवीकरण, कारण छ अनौठो

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

बिहीवार सम्पन्न क्लब र मेस्सीबीचको भेटमा नयाँ सम्झौतामा हस्ताक्षर हुन असफल भएको बार्सिलोनाले जानकारी दिएको छ। “नयाँ सम्झौताको आर्थिक र संरचनात्मक कुरामा सहमति हुन नसक्दा मेस्सीले क्लब छाड्न लागेका हुन्”, बार्सिलोनाले औपचारिक रूपमा घोषणा गरेको छ।

गत जुलाई १ तारीखमा बार्सिलोनासँगको सम्झौता अन्त्य भएसँगै मेस्सी फ्रि-एजेन्ट बनेका थिए। तर पछिल्लो समयमा मेस्सीले बार्सासँग सम्झौता नवीकरण गर्ने लगभग निश्चित भइसकेको थियो। मेस्सी र क्लबबीच ५० प्रतिशत तलब कटौतीमा सहमति समेत भइसकेको थियो।

यसको मतलब मेस्सी र क्लबबीच कुनै पनि आर्थिक तथा व्यक्तिगत मनमुटाव थिएन। अझै बार्साले औपचारिक रूपमा दिएको जानकारी यस्तो रहेको छ। “मेस्सी र क्लबबीच सम्झौता नवीकरणको ढाँचा तथा अवधि दुवैमा सहमति भइसकेको थियो, तर लिगको आर्थिक तथा संरचनात्मक बाधा अड्चनका कारण नयाँ सम्झौतामा हस्ताक्षर हुन सकेन।”

 

 

आखिर के कारणले सम्झौता नविकरण हुन सकेन त ?

पछिल्लो केही समय देखि नै बार्सिलोना क्लबको आर्थिक स्थिति खासै बलियो देखिएको छैन। बार्सिलोनाले पछिल्लो समयमा निकालेको औपचारिक रिपोर्ट अनुसार क्लब १ बिलियन युरो बराबरको ऋणमा रहेको छ।

संसारकै सबैभन्दा धनी मध्येको एक क्लबको सूचीमा पर्ने बार्सिलोनालाई कोरोना महामारीले निकै संकटमा पार्यो। करिब ४ बिलियन युरोको वार्षिक आमदानी आय गर्ने बार्सालाई कोरोना महामारीले ठूलो घाटा पुर्यायो। स्पेनिश ला-लिगा फुटबल खेल्ने २० वटा क्लब मध्ये १० वटा क्लबले बेहोरेको भन्दा बढी घाटा बार्सिलोना एक्लैले बेहोरेको जानकारी बार्सिलोनाको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ।

कलबलाई आर्थिक मन्दीले सताइरहेको अवस्थामा पनि बार्साले यस पटकको सरुवा बजारमा सर्जियो अग्वेरो, एरिक गार्सिया, मेम्फिस डिपाए र एमरसन रोयल जस्ता खेलाडी भित्र्याईसकेको छ।

ला-लिगाको नियम अनुसार बार्सिलोनाको आर्थिक स्थिति अनुसार उसले अब कुनै पनि नयाँ खेलाडी भित्र्याउन सक्नेछैन। औपचारिक रूपमा मेस्सीको सम्झौता जुलाई १ मा नै अन्त्य भइसकेको हुँदा मेस्सीले सम्झौता नवीकरण गर्नु, बार्सिलोनाले नयाँ खेलाडी भित्र्याए बराबर हुनेछ। यस कारणले मेस्सी र बार्सिलोनाबीचको अविस्मरणीय यात्रामा पूर्णविराम लागेको छ।

यस अप्रत्याशित तथा अनौठो स्थितिमा बार्सिलोनाले औपचारिक रूपमा आफ्नो कप्तान तथा लेजेण्ड लियोनल मेस्सीलाई विदाई गरेको छ। “मेस्सीले बार्सिलोनाको लागि गरेका योगदान प्रति हामी सदैव आभारी रहनेछौं, उनको व्यक्तिगत तथा व्यावसायिक जीवनको लागि शुभकामना दिन चाहन्छौं”, बार्सिलोनाको औपचारिक कथन रहेको छ।

३४ वर्षीय लियोनल मेस्सी बार्सिलोना क्लब इतिहासमै सबैभन्दा महान् खेलाडीका रूपमा चिनिन्छन्। मेस्सीले बार्साका लागि ७७८ खेलमा ६७२ गोल तथा २६५ असिस्टको योगदान दिएका छन्। उनी क्याटालन क्लब इतिहासकै सर्वाधिक गोलकर्ता तथा असिस्टकर्ता पनि हुन्। मेस्सीले बार्सिलोनासँगको दुई दशकको यात्रामा १० ला-लिगा उपाधि तथा ४ च्याम्पियन्स लिग उपाधि समेत जितेका छन्।

मेस्सीले आउँदो सिजन कुन क्लबबाट फुटबल खेल्नेछन् भन्ने कौतुहलताको उत्तर समयले आँफै दिनेछ। सबैभन्दा महत्वपूर्ण कुरा त आज एउटा युगकै अन्त्य भएको छ, मेस्सी र बार्सिलोनाबीचको यात्रामा पूर्णविराम लागेको छ।

लियोनल मेस्सी र बार्सिलोना, एण्ड अफ एन एरा !

 

-फोटमोब बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?