ओली सच्चिन तयार नभए पार्टी एकता हुँदैन : माधव नेपाल

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारेका छन् ।

बिहीबार राजधानीमा बसेको आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले केपी ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताए।

‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ केन्द्रीय कमिटी बैठकमा नेपालले बोलेको कुरा उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने।

त्यस्तै नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने समेत जिकिर गरे ।

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन’, नेता नेपालले भने, ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’

आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सवित भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा पनि पार्टी एकताका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य पन्तले बताए। नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोलि बिहान साढे ११ बजे फेरि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?