टोकियो ओलम्पिक: महिला फुटबलमा अस्ट्रेलियालाई पराजित गर्दै अमेरिकाले जित्यो काश्य पदक

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ संयुक्त राज्य अमेरिकाले अस्ट्रेलियालाई ४-३ गोल अन्तरले पराजित गर्दै काश्य पदक जित्न सफल भएको छ।

काशीमा स्टेडियममा बिहीवार सम्पन्न खेलमा चार पटक ओलम्पिक च्याम्पियन अमेरिकाले पहिलो हाफमा नै तीन गोलको अग्रता लिएको थियो। शुरुवाती ४५ मिनेटमा ३-१ गोलले अगाडि रहन सफल भएको अमेरिकी टोलीले दोस्रो हाफको शुरुवाती ५ मिनेटमै चौथो गोल गर्न सफल भएको थियो।

अस्ट्रेलियाले दोस्रो हाफमा पुनरागमन गर्ने सक्दो प्रयास गरेको थियो। तीन गोलले पछाडि रहेको अवस्थामा अस्ट्रेलियाले दुई गोल भने फर्काउन सफल पनि भएको थियो। अन्तिम मिनेटसम्म पुनरागमन गर्न प्रयासरत अस्ट्रेलियाले खेलको ९०औं मिनेटमा तेस्रो गोल गरेको थियो। तर निर्धारित ९० मिनेटको खेल अन्त्य हुँदा अमेरिका काश्य पदक विजेता बन्न पुग्यो।

यसअघि खेलिएका सेमी फाइनल खेलमा क्यानडाले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको थियो भने स्वीडेनले अस्ट्रेलियालाई पराजित गरेको थियो। महिला फुटबलको फाइनल खेल शुक्रवार, अगस्ट ६ मा खेलिने तालिका रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?