कांग्रेसको विशेष महाधिवेशन कति सम्भव ? यसो भन्छन् रामचन्द्र पौडेल

लोकपथ
676
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तिम विकल्पको रुपमा विशेष महाधिवेशन गर्न सकिने बताएका छन् ।

आज चाक्सिबारीमा बसेको आफू पक्षीय नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले विशेष महाधिवेशन आफूहरुको रहर नभएको बताए ।

त्यसैक्रममा वरिष्ठ नेता पौडेलले भदौमा नै महाधिवेशन सम्भव हुने बताउँदै छिटो प्रक्रिया थाल्नुपर्नेमा जोड दिए ।

‘विशेष महाधिवेशन कुनै उपाय नभएको खण्डमा हो । विशेष महाधिवेशन हाम्रो रहर होइन । भदौको २३ गतेसम्म नयाँ कार्यसमिति आएन भने यो कार्यसमितिको वैधानिकता सकिन्छ । त्यसपछि पार्टीको वैधानिकता नै संकटमा पर्छ त्यसबाट बच्नका लागि विशेष महाधिवेशन गर्ने ।’ उनले भने-‘अझै भदौमा महाधिवेशन गर्ने समय छ । त्यसको लागि सुरु गर्नुपर्यो ।’

भदौ २३ गतेसम्म पार्टीको नयाँ कमिटी नआएमा पार्टीको वैधानिकता संकटमा पर्ने बताउँदै त्यसलाई जोगाउने विषयमा छलफल भएको बताए ।

नेता पौडेलले भने-‘महाधिवेशनको चाँडै आउन पर्यो । पार्टीको क्रियाशील सदस्यताको विवाद २ दिनमा टुंगिन पर्यो । वैधानिक रुपमा पार्टी संकटमा पर्दैछ । कसरी पार्टीलाई बचाउने भन्ने विषयमा छलफल भयो ।’

आज पूर्व महामन्त्री एवं पार्टी केन्द्रीय सदस्य रहेका नेता प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको थियो । आजको बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंहसँगै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?