मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइएकी सांसद ओलीले मुख खोलिन्

लोकपथ
286
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद ओलीले आफूलाई मुख्मन्त्री पोखरेलको निवासमा तीन दिन बन्धक बनाइएको बताएकी हुन् ।

उनले १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।

आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’

उपचारका लागि नेपालगञ्ज जान लागेको समयमा नेकपा एमालेका लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई गाडीमा बुटवल पुर्‍याएको उनको आरोप छ। आफूलाई नेकपा एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको उनले बताइन्।

‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छ भनेर सोचेको थिएं, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो।’

सांसद ओलीले २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएको बताएकी छन् । मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’

आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् ।

राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक व्यहोरेको उनले बताएकी छिन्। उनले आफू माओवादी केन्द्रप्रति पूर्णप्रतिबद्ध रहेको बताइन्।

आफ्ना नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?