दोस्रो टी-ट्वान्टीमा पनि अस्ट्रेलिया स्तब्ध

काठमाडौं । बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोली दोस्रो टी-ट्वान्टी खेलमा ५ विकेटले स्तब्ध हुन पुगेको छ।

ढाकास्थित शेरे बांग्ला नेशनल स्टेडियममा बुधवार खेलिएको दोस्रो टी-ट्वान्टी खेलमा टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १२१ रन बनाउन सफल भएको थियो। अस्ट्रेलियाका लागि अलराउन्डर मिचेल मार्सले सर्वाधिक ४५ रन बनाउँदा अर्का अलराउन्डर मोइसेस हेन्रिकेसले ३० रनको योगदान दिएका थिए। अन्य अस्ट्रेलियन ब्याट्सम्यानलाई सस्तोमै समेट्ने क्रममा मुस्तफिजुर रहमानले ३ तथा शोरिफुल इसलामले २ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा १२२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १८.४ ओभरमा मात्र ५ विकेट गुमाएर जित प्राप्त गरेको थियो। बंगलादेशका ओपनर ब्याट्सम्यान सस्तोमै पविलियन फर्केपछि मिडल अर्डरले पारी सम्हालेका थिए। घरेलु टोलीका लागि अतिफ होसेनले अविजित ३७ रनको पारी खेल्दा विकेट किपर नुरुल हसनले अविजित २२ रन बनाएका थिए। त्यस्तै अलराउन्डर शाकिब अल हसनले २६ रन बनाएका थिए।

यस जितसँगै बंगलादेशले पाँच टी-ट्वान्टी खेलको शृंखलामा २-०को अग्रता लिएको छ। आफ्नो संयमित ब्याटिङका लागि बंगलादेशका अतिफ होसेन खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?