भदौमा नहुने भयो कांग्रेस महाधिवेशन

कांग्रेसको १४औं महाधिवेशन फेरि ४ देखि ६ महिना पर सर्ने भएको छ । कांग्रेसले २०७६ मै सम्पन्न गर्नुपर्ने महाधिवेशन पटक–पटक पर धकेलिँदै आएको छ ।

कांग्रेसको पार्टी विधानअनुसार प्रत्येक ४ वर्षमा हुनुपर्ने महाधिवेशन विभिन्न कारणले सर्दै आएको छ । पछिल्लो पटक आउँदो भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भनेर मिति तय भएको अवस्थामा अब तोकिएको समयमा नहुने भएको छ । भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्नका लागि यही साउन १२ बाट स्थानीय तहमा वडा अधिवेशन सुरु गर्नेगरी कार्यतालिका सार्वजनिक भएको थियो । तर त्यो हुन सकेन ।

कांग्रेसले अर्काे कार्यतालिका पनि ल्याएको छैन । क्रियाशील सदस्यताको बिवाद छानबिन समितिले टुंग्याए पनि केही बाँकी रहेका विषय भने शीर्ष नेतालाई टुंग्याउन जिम्मा दिइएको छ ।

कहाँ–कहाँ छ क्रियाशील विवाद ?

कांग्रेस नेता एवं क्रियाशील सदस्यता विवाद छानबिन समितिका एक सदस्यका अनुसार क्रियाशील सदस्यता टुंग्याउन बाँकी रहेका जिल्लाहरूमा सिन्धुपाल्चोक, रसुवा, धनुषाको क्षेत्र नम्बर १, सर्लाहीको क्षेत्र नम्बर २ छन् । त्यसैगरी कैलालीको क्षेत्र नम्बर २ मा विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरूको समायोजनको समस्या छ भने सप्तरीको विवादबारे अझै पनि पोको खोलिएको छैन । अरु जिल्लाको भने समितिले टुंग्याइसकेको छ ।

ती नेता भन्छन्, ‘शतप्रतिशत विवाद टुंग्याएर कांग्रेस महाधिवेशन भएको कहिले छ र ? सबै विवाद टुंग्याउन अझै तीन वर्ष लाग्छ ।’

क्रियाशील विवाद टुंग्याउन बुधबार कांग्रेस शीर्ष नेताबीच छलफल भयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा शीर्ष नेताबीच विवाद टुंग्याउन छलफल भएको हो । क्रियाशील सदस्य कांग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता हुन् ।

यसकारण सारियो महाधिवेशन

कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुन तेस्रो साता काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने र परिस्थिति हेरेर एक वर्ष लम्ब्याउन सकिने भन्ने छ ।

यस हिसाबले कांग्रेसको १४औं महाधिवेशन २०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने थियो । तर त्यतिबेला महाधिवेशन हुन नसकेपछि पार्टी विधानबमोजिम १ वर्ष पर धकेलियो अर्थात् २०७७ फागुनमा कांग्रेसले महाधिवेशन गर्ने निर्णय गर्यो । तर कोरोना महामारीका कारण वडा तहदेखिका अधिवेशन हुन नसकेपछि २०७७ फागुनमा पनि महाधिवेशन हुन सकेन र कांग्रेसले राजनीतिक दलसम्बन्धी प्रावधान रहेको संविधानको धारा २६९ को उपधारा ४ (ख) बमोजिम ६ महिना पर सारेर २०७८ भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

पार्टीको विधानले ४ र राजनीतिक दलसम्बन्धी ऐनले ५ वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा त्यो समयभित्र पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाको सहारा लिएको हो । संविधानअनुसार कांग्रेसलाई आउँदो भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था हो ।

कांग्रेसले यसअघि भदौ ७ देखि १० सम्म गर्ने भनिएको महाधिवेशन एक साता पर धकेलेर अब १६ देखि १९ भदौसम्म सम्पन्न गरिने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर कार्यतालिकाबमोजिम वडा अधिवेशन हुन नसकेपछि महाधिवेशन लगभग सर्ने पक्का भएको छ । तर कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टी सभापति एवं प्रधानमन्त्री देउवा तोकिएकै मितिमा महाधिवेशन गर्ने पक्षमा रहेको लोकपथसँग दाबी गरे ।

दवाबमा देउवा

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा पार्टी र सरकार चलाउनुपर्ने दवाब छ । यस्तो दवाबका बीच महाधिवेशन भएमा आफू सभापतिमा नजितिने हो कि भन्ने तनावमा छन् । उनीसँग पार्टीलाई दिनुपर्ने समय पनि कम छ । सरकार गठन भएको झण्डै १ महिना हुनलाग्दा पनि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । त्यसले कार्यकर्तामा खासै राम्रो सन्देश गएको छैन ।

देउवाले सरकारमा गएर तत्काल जनतामा छाप पर्नेगरी कार्यक्रम पनि दिन सकेका छैनन् । त्यसकारण बरु महाधिवेशन केही पर सारेर पूर्ण तयारीका साथ आफ्नो तयारी गर्ने दाउमा रहेको उनीनिकट स्रोत बताउँछ ।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले लोकपथसँग कुरा गर्दै महाधिवेशन सार्दा कार्यकर्तामा राम्रो सन्देश नजाने बताए । पार्टीको वैधानिकता जोगाउन तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने उनको भनाइ छ ।

महाधिवेशन सार्ने अस्त्र

कांग्रेसले महाधिवेशन सार्न कोरोनाको जोखिम, कार्यकर्तालाई आवतजावतका लागि बर्खामा बाढी पहिरोको समस्या र समाधान गर्न बाँकी क्रियाशील सदस्यतालाई लिइएको छ । त्यसैगरी सबैभन्दा बलियो तर्क कांग्रेसले सर्वाेच्च अदालतले कोरोनाकालमा भएको लकडाउन र निषेधाज्ञालाई शून्य समय मानेकाले भदौमै महाधिवेशन गर्र्नुपर्छ भन्ने बाध्यता नरहेको दाबी गरेको छ ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि सर्वाेच्चको फैसलालाई आधार मानेर सम्बन्धित निकायसँग छलफल गरेर महाधिवेशन सार्न सकिने बताउँछन् ।

महाधिवेशनको सुरुवात भने भदौबाटै

एक कांग्रेस नेताका अनुसार साउनमा सुरु हुने भनिएको वडा अधिवेशन स्थगित भएकोमा त्यसलाई भदौबाट सुरु गर्नेगरी नयाँ कार्यतालिका ल्याउने र केन्द्रीय महाधिवेशन मंसिरमा पुर्याउँदा वैधानिकतामा प्रश्न नउठ्ने बताउँछन् ।

यसो गर्दा कांग्रेस महाधिवेशन भदौमा नै सुरु भएको सन्देश जान्छ भन्ने तर्क कांग्रेसभित्र एकथरीको छ ।

महाधिवेशन सार्दा कुन गुटलाई फाइदा ?

महाधिवेशन सर्दा कांग्रेसमा रहेका सभापति देउवा पक्षीय गुट र देउवा इतरको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गुट कसैलाई पनि फाइदा हुुँदैन ।

तर पौडेल पक्षका केही नेताहरू भने महाधिवेशन लम्ब्याएर देउवा पक्षले कार्यकर्तालाई आफूतिर लोभ्याउन विभिन्न हतकण्डा अपनाउन सक्ने बताउँछन । देउवाले सरकारमा रहेको फाइदा उठाएर कार्यकर्र्ता प्रभावित पार्ने हुन् कि भन्ने आशंका पौडेल पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?