विद्युत् सर्ट हुँदा आगलागी, लाखौंको क्षति

RSS
78
Shares

कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार अपराह्न ४ बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्किदा ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए। ‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो’, उनले भने, ‘घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।’

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए। उनले भने, ‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।’ घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?