इङ्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट खेल आजबाट

काठमाडौं । इङ्ल्यान्ड भ्रमणमा रहेको भारत र घरेलु टोलीबीचको पाँच टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट आज (बुधवार)बाट शुरू हुँदैछ।

नटिङहामस्थित ट्रेन्ट ब्रिजमा पहिलो टेस्ट नेपाली समय अनुसार अपरान्ह ३:४५ बजेबाट शुरु हुने तालिका रहेको छ। गत जुन महिनामा आयोजित विश्व टेस्ट च्याम्पियनशिप फाइनल खेल्न इङ्ल्यान्ड पुगेको भारतीय क्रिकेट टोली त्यस बेलादेखि स्वदेश फिर्ता आएको छैन। न्युजिल्यान्डविरुद्ध टेस्ट च्याम्पियनशिप फाइनलमा पराजय भोगेको भारत यस शृंखलामा भने जितको लागि उत्रनेछ।

यसै वर्षको शुरुवातमा भारत भ्रमण गरेको इङ्ल्यान्ड चार टेस्ट खेलमा ३-१ ले पराजित भएको थियो। भारतीय पिचमा स्पिनरविरुद्ध निरिह देखिएको इङ्ल्यान्डलाई पनि बदलाको भावना जिउँदै रहेको छ। टेस्ट खेलमा एकै वर्ष बदला लिने मौका कमै आउँछ र इङ्ल्यान्ड यो मौकालाई गुमाउन चाहँदैन।

सन् २०१८ मा पछिल्लो पटक टेस्ट खेल्न इङ्ल्यान्ड भ्रमण गरेको भारत त्यस बेला ४-१ ले पराजित भएको थियो। तर पछिल्लो तीन वर्षमा भारतीय टोलीले काँचुली फेरेको अवस्था छ र विदेशी भूमिमा पनि भारतले नतिजा निकाल्दै आएको छ।

पछिल्ला ५ टेस्ट खेल

इङ्ल्यान्ड: हार, ड्र, हार, हार, हार
भारत: हार, जित, जित, जित, हार

 

सम्भावित शुरुवाती ११

इङ्ल्यान्ड
रोरी बर्न्स, डोम सिवले, ज्याक क्रली, जो रुट (कप्तान), जोनी बेरस्टो, जोस बटलर, स्याम करन, ओली रोबिनसन, स्टुवार्ट ब्रोड, ज्याक लिच, जेम्स आन्डरसन


भारत
रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाने, ऋषभ पन्त, रविन्द्र जडेजा, रवि आश्विन, इशान्त शर्मा, मोहम्मद शमी, जसप्रित बुम्राह

 

प्लेयर्स टू वाच

इङ्ल्यान्ड: जेम्स आन्डरसन
भारत: विराट कोहली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?