टोकियो ओलम्पिक: अमेरिकी धावक मेकलाफ्लिनले नयाँ विश्व कीर्तिमान रच्दै जितिन् स्वर्ण

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ४०० मीटर हर्डल्स विधातर्फ संयुक्त राज्य अमेरिकाकी सिड्नी मेकलाफ्लिनले नयाँ विश्व कीर्तिमान रच्दै स्वर्ण पदक जितेकी छिन्।

बुधवार सम्पन्न फाइनल दौडमा लेन ४बाट उत्कृष्ट शुरुवात गरेकी मेकलाफ्लिनलाई अमेरिकाकी डालिलाह मुहम्मदले कडा टक्कर दिएकी थिइन्। तर दुई अमेरिकी धावकबीचको टक्कर मेकलाफ्लिनले जित्न सफल भइन्।

मेकलाफ्लिनले ५१.४६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ विश्व किर्तिमान रच्न सफल भएकी हुन्। त्यस्तै ५१.५८ सेकेन्डमा दौड पूरा गरेर रजत पदक जितेकी मुहम्मदले पनि पुरानो विश्व किर्तिमान तोड्न सफल भएकी थिइन्।

 

दुई अमेरिकी धावकले कीर्तिमानी दौड पूरा गर्दा तेस्रो स्थानमा रहन सफल भएकी नेदरल्यान्ड्सकी फेमके बोलले ५२.०३ सेकेन्डमा दौड पूरा गरिन्। बोलको यो समय काश्य पदकको लागि नयाँ युरोपियन कीर्तिमान बनेको छ। बोलले पनि पुरानो विश्व किर्तिमान तोड्न सफल भइन्।

यस अघि महिला ४०० मीटर हर्डल्स विधामा जमाईकाकी मेलानी वाकरले विश्व कीर्तिमान राखेकी थिइन्। उनले सन् २००८ बेइजिङ ओलम्पिकमा ५२.५४ सेकेन्डमा दौड पूरा गर्दै विश्व कीर्तिमान रचेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?