बंगलादेशले जित्यो अस्ट्रेलियाविरुद्ध पहिलो अन्तराष्ट्रिय टी-ट्वान्टी खेल

काठमाडौं । बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोली पहिलो टी-ट्वान्टी खेलमा २३ रनले पराजित भएको छ।

मिरपुरस्थित शेरे बांग्ला नेशनल स्टेडियममा मंगलवार खेलिएको पहिलो खेलमा बंगलादेशले पाहुना टोलीलाई पराजित गर्दा इतिहासमै पहिलो पटक अस्ट्रेलियाविरुद्ध अन्तराष्ट्रिय टी-ट्वान्टी खेलमा जित प्राप्त गर्न सफल भएको हो। अस्ट्रेलियाले खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रनको साधारण योगफल तयार पारेको थियो। घरेलु टोलीका लागि ओपनर मोहम्मद नैमले ३० रन बनाएका थिए। त्यस्तै अलराउन्डर शाकिब अल हसनले सर्वाधिक ३६ रनको पारी खेल्दा कप्तान महमुदुल्लाहले २० रन बनाउन सफल भएका थिए। अस्ट्रेलियाका लागि तिब्र गतिका बलरद्वय जोश हेजलवुड तथा मिचेल स्टार्कले क्रमशः ३ र २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा १३२ रनको लक्ष्य लिएर क्रिजमा उत्रेको अस्ट्रेलियाको टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १०८ रन बनाउन सफल भयो। अस्ट्रेलियाका लागि अलराउन्डर मिचेल मार्सले सर्वाधिक ४५ रन तथा बलर मिचेल स्टार्कले १४ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान सस्तोमै समेटिए। बंगलादेशका स्पिनर नसुम अहमदले व्यक्तिगत ४ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिन सफल भए।

यस ऐतिहासिक जितसंगै बंगलादेशले ५ टी-ट्वान्टी खेलको शृंखलामा १-० को अग्रता लिएको छ। आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनीका लागि नसुम अहमद खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?