उपाध्यक्ष नेम्बाङ र प्रशिक्षक अल्मुताइरीबीच सहमति

काठमाडौं । पछिल्लो समय निकै चर्चामा आएको अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद सहमतितर्फ आएको छ।

मंगलवार काठमाडौंको एक होटलमा भएको प्रशिक्षक र उपाध्यक्षबीचको भेटघाटले सहमतिको बाटो लिएको छ। भेटघाट पश्चात् दुवैले पुरानो विवादलाई पछाडि सार्दै आउने दिनमा सहकार्य गर्दै काम गर्ने निर्णय गरेका हुन्।

भेटघाटमा भएको वार्तालावले सकारात्मक बाटो लिएपछि दुवैले बुधवार संयुक्तरूपमा औपचारिक विज्ञप्ति निकाल्ने तयारी गरेका छन्। एन्फाले यी दुई पक्षको विवाद सुल्झाउन युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेपछि मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई सो जिम्मेवारी दिएको थियो।

राखेपले सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय टोलीको छानबिन समिति गठन गरेकै दिन यी दुई पक्षबीच सहमति भएको हो। नेम्बाङ र अल्मुताइरी दुवैको चाहना नेपाली फुटबलको विकास रहेको र त्यसकै लागि दुवैले एक अर्काको सहकार्यमा काम गर्ने तयारी गरेका छन्।

प्रशिक्षक अल्मुताइरीले उनको काममा हस्तक्षेप गरेको भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ माथि छानबिनको माग गरेका थिए। नेम्बाङले पनि सोही विषयमा चिन्ता व्यक्त गर्दै छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका थिए। त्यस्तै प्रशिक्षक अल्मुताइरीले सामाजिक संजालमा प्रशिक्षकको भूमिकाबाट राजीनामा दिने समेत जानकारी दिएका थिए।

सोही विषयको समाधान गर्न बसेको एन्फाको केन्द्रीय कार्यसमितिको आपतकालीन बैठक निष्कर्ष विहिन टुंगिएको थियो। एन्फाले निष्पक्ष छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेपछि एन्फाका प्रवक्ता किरण राईले समेत राजीनामा दिएका थिए। अन्ततः लामो समयको चर्काचर्की र मनमुटाव पछि वरिष्ठ उपाध्यक्ष नेम्बाङ र प्रशिक्षक अल्मुताइरीबीच सहमति भएको छ। यस सहमतिसँगै अब सबै विवाद अन्त्य हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?