४० नाघेपछि यस्तो किसिमको हुनुपर्छ खानपान शैली

लोकपथ
0
Shares

उमेर बढ्दै गएपछि शरीरमा पनि विभिन्न किसिमका परिवर्तनहरू देखा पर्न थाल्छ । उमेर बढ्दै गएपछि शरीरको मांसपेशीहरू कमजोर हुन थाल्ने, छाला पातलो हुने, पाचन क्रिया कमजोर हुने, भोक कम लाग्ने जस्ता किसिमका परिवर्तनहरू देखा पर्दै जान्छन् ।

यो उमेरमा कस्तो किसिमको खाना उपयुक्त हुन्छ भन्ने विषयमा अमेरिकाको नेशनल ईन्टिच्यूट अफ मेडिसिनले अनुसन्धान गरेको एउटा निर्देशन दिएको छ । यो उमेरमा रहेका व्यक्तिलाई खानामा कम क्यालोरी चाहिन्छ तर अरू पोषक तत्त्वको मात्रा भने बढी हुनु आवश्यक हुन्छ भनिएको छ । यो उमेरमा पुगेका व्यक्तिले आफूले खाने गरेको खानेकुरामा चिल्लो पदार्थ भएको, चिनीको मात्रा बढी भएको, क्याफिन भएको र फास्ट फुड जस्ता किसिमका खानेकुराहरू कम खानु नै शरीरका लागि राम्रो हुन्छ भनिएको छ ।

४० वर्षको उमेर पार गरेपछि आफ्नो खानामा २ वटा फलफूल र हरियो सागहरू अनिवार्य रूपमा सेवन गर्नुपर्छ । यो उमेरमा ६ देखि ८ घण्टा निदाउनु र दैनिक न्यूनतम पनि ३० मिनेट कुनै पनि किसिमको व्यायाम गर्नुपर्ने हुन्छ ।

४० वर्षको उमेर पार गरेपछि खानपिनमा कस्तो किसिमको सजगता अपनाउनु पर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय क्षेत्रका डाइटिसियनले दिएको सुझावहरू ।

चिनी

चिनीको सेवन दैनिक २ देखि ४ चम्चा भन्दा बढी गर्नु हुँदैन । यदि चिनी धेरै सेवन गर्ने बानी यो उमेर समूहमा परेको छ भने डायबिटिज, कलेजोको समस्या, मोटोपन र मुटु रोगका समस्याहरू देखिने सम्भावना धेरै हुन्छ ।

यदि तोकिएको यो मात्रा भन्दा बढी चिनी खाने बानी परेको छ भने ३० देखि ४० मिनेटसम्म कुनै पनि किसिमको कसरत गर्नु पर्छ, भर्‍याङ चढ्ने, डोरी खेल्ने, कुद्ने, एरोबिक गर्ने काम गर्नुपर्छ । यस्ता कार्यले चिनीले गर्ने मोटोपन र मुटुको समस्यालाई बढ्न दिँदैन ।

नुन

यो उमेरमा पुगेका व्यक्तिले दैनिक ५ ग्राम भन्दा बढी नुन नखानु नै राम्रो मानिन्छ । नुनको सेवन बढी भएमा उच्च रक्तचाप, मुटु रोग, टाउको दुख्ने र पेटको क्यान्सर समेत हुनसक्छ ।

यदि नुन बढी खाने बानी छ र कम खान सकिँदैन भने ३० मिनेट दैनिक साईकिलिङ, तौल घटाउने कसरत, १० मिनेट ब्रिस्क वाक अवश्य गर्नुपर्छ । यी विभिन्न कसरतले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

ड्राई फ्रुट

दैनिक ८ वटा देशी बदाम, २ काजू र २ वटा ओखर खाने गर्नु धेरै नै राम्रो हुन्छ । यदि यो मात्रा भन्दा धेरै खाएमा तौल बढ्ने र मुटुसँग सम्बन्धित विभिन्न किसिमका समस्याहरू पनि देखिन सक्छ । यदि यस्ता पदार्थहरू बढी खानुहुन्छ भने १० मिनेट कार्डियो कसरत, ३० मिनेट योग र ५ मिनेट गहिरो श्वास प्रश्वास लिने कसरत गर्नै पर्ने हुन्छ ।

मैदा

हप्तामा वा १५ दिनमा एक पटक मात्र मैदा वाट बनेको खानेकुरा खाने गर्नुपर्छ । यदि मैदाको सेवन धेरै गरेमा कोलेस्ट्रोल बढेर मोटोपन हुने र रक्त धमनीसँगका सम्बन्धित समस्याहरू देखा पर्छन् ।

यदि मैदाको सेवन यो मात्रा भन्दा बढी गर्ने गरिएको छ भने दैनिक २० मिनेट साईकिलिङ, ब्रिक्स वाक गर्दा धमनीसँग सम्बन्धित समस्याहरू कम हुनेछन् ।

तारेको वा फास्ट फुड खानेकुरा

तारेको खानेकुराहरू १५ दिनमा १ पटक खानु नै सबैभन्दा राम्रो मानिन्छ । यदि तारेको खानेकुरा बढी खाएमा मोटोपन हुने, डिप्रेसन हुने, मुटुसँग सम्बन्धित समस्या हुने, क्यान्सरको खतरा बढ्ने र हृदयाघात हुने सम्मका खतराहरू बढ्छन् । यदि यस्तो किसिमको खाना मन पर्छ र नियमित खाने गर्नु भएको छ भने एउटा बर्गर खानु भयो भने १ सय मिनेट, फ्रेन्च फ्राइज खानु हुन्छ भने ९० मिनेट, २ टुक्रा पिज्जा खानुहुन्छ भने ८४ मिनेट शारीरिक श्रम हुने किसिमको काम गर्नुपर्छ ।

चिया/कफी

एक दिनमा तिन कप चिया कफी पिउन सक्नुहुन्छ । यदि धेरै पिउनु भयो भने एसिडिटी, अनिन्द्रा, बेचैनी हुने जस्ता किसिमका समस्याहरू देखा पर्छन् । त्यसैले तोकेको मात्रा भन्दा बढी सेवन गर्नुभयो भने ५ मिनेट गहिरो श्वास लिने किसिमको कसरत गर्नुपर्छ, ३० मिनेट तेज गतिले कसरत गर्नुभयो भने निन्द्रासँग सम्बन्धित समस्याहरू हट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?