एन्फा विवाद छानबिनमा राखेपको इन्ट्री

काठमाडौं। पछिल्लो समय निकै विवादित बनेको अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादको छानबिन अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गर्ने भएको छ।

एन्फाले वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकबीचको विवादको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो। सोही अनुसार मन्त्रालयले निष्पक्ष छानबिनका लागि राखेपलाई निर्देशन दिएको छ।

मन्त्रालयले राखेपलाई दुवै पक्षको निवेदन र गुनासो अनुसार निष्पक्ष छानबिन गरी समाधानको उपाय निकाल्न निर्देशन दिएको छ। नयाँ सरकार गठन पछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहिन रहेको हुँदा सचिव केदार न्यौपानेले छानबिनको जिम्मेवारी राखेपलाई दिएका हुन्।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आफ्नो काममा हस्तक्षेप गरेको आरोप लगाउँदै राजीनामा दिने जानकारी दिएपछि यी दुईबीच आरोप प्रत्यारोपको सिलसिला जारी छ। सोही विषयमा एन्फाले केन्द्रीय कार्यसमितिको आपतकालीन बैठक समेत डाकेको थियो।

एन्फाको आपतकालीन बैठकले निष्पक्ष छानबिनको लागि मन्त्रालयलाई आग्रह गरेको थियो। त्यसपछि मन्त्रालयले प्राप्त निवेदन र प्रमाण माथि छानबिन गरी सुझाब सहितको प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?