ऊर्जामन्त्री भुसालसँग नेपालका लागि कोरियाका राजदूत पार्कको शिष्टाचार भेट

लोकपथ
147
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरीन् । भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराए ।

आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उनले बताए । राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिनसमेत अनुरोध गरे ।

उनले उक्त आयोजना सम्पन्न गर्न सके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । जवाफमा मन्त्री भुसालले जलविद्युत् क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अप्पर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताए । कोरियाली लगानी, सहयोग र साझेदारीका योजनालाई समयमै सम्पन्न गर्दै आपसी विश्वास अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी मन्त्री भुसालले कोरियाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै इपिएस कार्यक्रमअन्तर्गत कोरिया जाने तयारीमा रहेका नेपालीलाई आवश्यक सहजीकरण गर्न आग्रह गरीन् । उनले कोभिड–१९ का प्रोटोकल बनाएर नेपाली युवालाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । कृषि क्षेत्रमा कोरियाको राम्रो अनुभव रहेको बताउँदै मन्त्री भुसालले त्यस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सकिने बताइन् ।

राजदूत पार्कले कोरियन भाषा परीक्षा पास गरेका नेपालीलाई कसरी गन्तव्यसम्म पुर्‍याउने विषयमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराए । उनले कृषि क्षेत्रमा थप सहकार्यका लागि आफूले कोरियाली विकास नियोगमार्फत सहकार्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?