सत्तारुढ गठबन्धनले साझा कार्यक्रम ल्याउने

लोकपथ
91
Shares
काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको छलफलले उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने सहमति पनि भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।
सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको पनि बताइएको छ । कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले साझा कार्यक्रमको मस्यौदा बनाउने काम गरिरहेको र मंगलबार शीर्ष नेतृत्वलाई मस्यौदा प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले जानकारी दिए ।
कार्यदलमा कांग्रेसबाट संयोजक खड्कासहित नेता रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् । देउवा प्रधानमन्त्री बनेको तीन साता बित्दा समेत मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?