मेलम्ची बाढी : विस्थापितहरुलाई राहतको व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

लोकपथ
65
Shares

काठमाडौं । संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षति र त्यसबाट विस्थापितहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सो आयोजनामा आएको बाढीकाकारण विस्थापित भएका नागरिकहरुलाई तत्काल सुरक्षित बसोबाससहितको राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकमा आयोजनामा बाढीका कारण पुगेका क्षतिबारे खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य र आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले समितिलाई जानकारी गराएका थिए । खानेपानी मन्त्रालय र सम्बन्धित आयोजनाका पदाधिकारीहरुबाट सो आयोजनाको जानकारी लिएपछि समितिले आयोजना क्षेत्रलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकले आगामी दिनमा सो आयोजनामा क्षति नहुने गरी भौैगर्भिक अध्ययन गराउन विज्ञहरुलाई परिचालन गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले विस्तृत अध्ययन बिनानै सो आयोजनाको काम गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?