जापानमा थप चार क्षेत्रमा संकटकाल घोषणा

लोकपथ
91
Shares

टोकियो । ओलम्पिक खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको जापानका थप चार क्षेत्रमा संकटकाल घोषणा गरिएको छ ।

यसअघि टोकियो र ओकिनावामा संकटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि संकटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोबाट नजिकै रहेको क्षेत्रमा संकटकाल लगाइएको हो । संकटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको संकटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ ।

जापान सरकारले संकटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ । संकटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ । अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ । उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ ।

सङ्कटकालको निर्देशन पर्याप्तरुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ । सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो संकटकाल लगाएको छ। ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?