लुम्बिनी प्रदेश : सरकार गठनको आह्वान गर्दै विपक्षी गठनबन्धनका ४१ सांसदले बुझाए पत्र

लोकपथ
65
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई हटाउन विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई आग्रह गरेको छ ।

गठबन्धनले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सरकार गठनको आह्वान गरी पाऊँ भन्दै प्रदेश प्रमुख शेरचन समक्ष निवेदनसमेत पेस गरेको छ ।

निवेदनमा ४१ जना प्रदेश सांसदको हस्ताक्षर रहेको थियो । ती सांसदहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले राजीनामा दिन आनाकानी गरिरहेकोले कानुनअनुसार प्रदेश सरकार गठनको आह्वान गरी पाऊँ भन्दै प्रदेश प्रमुख समक्ष निवेदनसमेत पेस गरेको बताए ।

यसै विषयमा छलफल गर्न गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश सभामुख पूर्ण घर्ती केही दिनअघि काठमाडौंमा आएका थिए ।

काठमाडौं आएका केसी र घर्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्य गठबन्धनका नेताहरूसँगको भेटघाट गरेका थिए ।

गठबन्धनबाट केसीलाई माओवादीका १८ जना, कांग्रेसका १९ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जनाले समर्थन गरेका छन्। केसीको पक्षमा प्रदेशसभाका ४१ जना सांसदले समर्थन गरेका छन्।

यस्तै, पोखरेलको पक्षमा ३८ जनाले मात्रै समर्थन गरेका छन्। उनलाई समर्थन गरेका जसपाका ३ सांसद कारबाहीमा परिसकेकाले उनको पक्षमा ३५ मात्रै रहेका छन् । ३५ जनामध्ये पनि २ जना एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्। पोखरेलले विश्वासको मत लिए (नेपाल पक्षले साथ नदिँदा) उनको पक्षमा ३३ जना मात्रै हुने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?