डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।
जिल्लाका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसकेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यही साउन २४ गतेसम्मका लागि बढाउने निर्णय गरेको हो ।
अत्यावश्यक कामबाहेक निषेधाज्ञा उलङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।
केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।
जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया