आरविवि मर्चेन्टमा डिम्याट खाता खोल्न हप्ता दिन

RSS
91
Shares

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।

टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई फाराम बुझाएको तीनदिनसम्म पनि खाता नं पाउन नसकेको गुनासो गर्छिन्।

कार्कीजस्तै सयौँ सेवाग्राही लिमिटेडमा समयमा काम नहुने गरेको दुःखेसो पोख्छन् । कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने र मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेका छन् । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इसारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीको गुनासो छ ।

ब्रोकरले सेवाग्राहीसँग काम लिन लिमिटेडका कर्मचारीलाई प्रभावमा पारेर एकाधिकार जमाएको डिम्याट खाता नं लिन तीन दिनदेखि धाएका समरबहादुर श्रेष्ठको गुनासो छ । मालपोत, यातायातलगायत सरकारी कार्यालयमा जस्तै लिमिटेडले पनि दलालमार्फत् काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको उनको भनाइ छ ।

लिमिटेडका सूचना अधिकारी सिर्जना बाँस्कोटा भने केही दिनअघिसम्म टोकन दिएर सेवाग्राहीलाई कार्यालय छिराएर सेवा दिएको दाबी गर्छिन् । कोरोना जोखिमका कारण टोकन पनि दिन बन्द गरेको उनको भनाइ छ । सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा पाउँदैनन् । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत दिँदैनन् । पैसा फाराममै ‘स्टिच’ गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । यसो गर्दा सेवाग्राहीको फाराम हराएमा दाबी गर्न उसँग कुनै प्रमाण हुँदैन ।

कार्यालयको यस्तो बेथितिका विषयमा कर्मचारीसँग गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुने गरेको दुःखेसो सेवाग्राहीको छ । कार्यालय परिसरमा कतै नागरिक बडापत्रसमेत भेटिँदैन । एउटा खाता नं लिनकै लागि सेवाग्राही हप्ता दिनसम्म धाउनुपर्ने वातावरण कार्यालयमा बनाइएको छ । सूचना अधिकारी बाँस्कोटा भने सेवाग्राहीले फाराम पेश गरेको आधा घण्टादेखि एक घण्टाभित्रमा खाता नं दिने गरेको दाबी गर्छन्।

मेरो सेयर फारम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि लामो समयदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई सेवा दिने बताउछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?