धनगढी । ‘पछिल्लो समय दैनिक भारतीय सीमा सुरक्षा बलले तुईन हटाउदै आएको छ’ ब्यास गाउँपालिका वडा नम्बर २ स्थित मालघाटमा तुईन सञ्चालन गरिरहेका कल्याणसिंह धामीले भने, ‘मेरो घाँटमा सञ्चालन भएको तुइनमा भारतीय पक्षले तुईन काट्दा महाकाली नदीमा वेपत्ता भएको यो पहिलो घटना हो ।’
भारतीय पक्षले धार्चुला–लिपुलेक सडक एकलौटी रुपमा निर्माण गर्न लागेपछि सो वडामा गस्ती बढेको छ । गस्ती बढेसंगै हरेक दिन सो क्षेत्रमा लगाइएको तुईन हटाइने गरेको उनले प्रतिक्रिया दिए ।
ब्याँस गाउँपालिका वडा नम्बर २ मा सात र वडा नम्बर ४ मा तीन गरि १० वटा स्थानमा तुइन रहेको छ । सो वडाका मानिसहरु तुईनबाटै भारतीय क्षेत्र प्रवेश गरी नेपालका विभिन्न स्थानमा कामका लागि आउनुपर्ने बाँध्यता रहेको छ ।
शुक्रवार जयसिंह धामी नेपालकै संघिय राजधानी काठमाडौं जानका लागि सोही तुईन प्रयोग गरि भारतीय सीमा क्षेत्रमा प्रवेश गरिरहेका थिए । तीन जना भारतीय क्षेत्रमा प्रवेश गरेलगत्तै पुगेको भारतीय सीमा सुरक्षा वलका सुरक्षाकर्मीले तुईन हटाए । सोही कारण अहिलेसम्म जयसिंह महाकाली नदीमा वेपत्ता छन ।
करिव दुई साताअघि सोही वडाका अन्दाजी २६ वर्षिय धनसिंह धामी सोही तुईनबाट महाकाली नदिमा खसेका थिए । सञ्चालक कल्याणले भने, ‘उनी ताम्लो नबाँधी तुईनबाट वस्तीमा आउँदै थिए । त्यही लापरबाहीले नदीमा खसे तर, पौडी आउने भएकाले बचे ।’
कल्याणले घाँट सञ्चालन गरेदेखि व्यक्तिकै आफ्नो लापरबाहीबाहेक अन्य कारणले तुईनबाटै खस्नुपरेको नदेखेको प्रतिक्रिया दिए । शुक्रवार भारतीय सीमा सुरक्षा बलले तुईन काट्दा जयसिंह महाकाली नदीमा वेपत्ता भएको बताए । उनले भने, ‘भर्खरै बाँधेको यो डोरी आफै खुस्कीएको छैन । जयसिंहभन्दा अघि तीन जनाले नदी पार गरेका छन् । एक्कासी यो फुस्कदैन । भारतीय सीमा सुरक्षा बलले चुडाएको छ । यसमा कुनै शंका छैन ।’
उनले भारत पुग्नै लाग्दा एसएसबीले तुइनको तार काटिदिएको बताउँछन् । ‘हामी वारी नै थियौँ, पारी पुग्नै लाग्दा एसएसबीले तुइनको तार काटिदिए,’ उनी भन्छन् । तुइनको तार काटिदिएपछि हुत्तिएर नदीमा गएको बताए ।
जयसिंहका भाइ नरेन्द्र धामीले एसएसबीको ज्यादती धेरै पहिलेदेखिनै नेपालीले भोग्दै आएको बताए । उनले सो बाटो भएर नदी तर्नुपर्ने बाध्यता भएको तर भारतीय पक्षले अमानवीय व्यवहार गर्ने गरेको बताए । ‘भारतीय पक्षले एकदमै हेप्ने गथ्र्यो, तुइन तर्दै गर्दा तार नै काटिदिएर अहिले उनीहरूले नेपालीप्रति अमानवीय व्यवहार देखाए,’ उनले भने, ‘अहिले त निर्दोष व्यक्तिले बाटो हिँडेकै कारण ज्यान गुमाउन पर्ने अवस्था आयो ।’
ब्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गणेशसिंह धामीले हरेक वर्ष एक जनाले तुईनमा सवार हुँदा ज्यान गुमाउनुपरेको प्रतिक्रिया दिए । उनले भने, ‘यहाँ तुईनकै सहाराले नेपालका अन्य जिल्ला प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ । मैले विक्रम संवत २०५० देखि हालसम्म तथ्यांक निकाल्दा तुईनकै कारण २६ जनाको मृत्यु भएको छ ।’ उनले भारतीय पक्षले गस्ती बढाएपछिमात्र चार वर्षमा चार जनाको मृत्यु भएको बताए । उनले भने, ‘यो मेरो वडाको मात्र तथ्यांक हो । वडा नम्बर ४ मा पनि समस्या यस्तै छ ।’
एक वर्षमै बनाउने बचन, अझै अधुरै
भारतको गँस्कु र ब्याँस गाउँपालिकाको माल, भारतको गा्रम सोसा र ब्याँस गाउँपालिकाको मलघट्टे, भारतको एलागाड र ब्याँस गाउँपालिकाको बडुगाउँ पुल निर्माणका लागि नेपाल र भारतबीच १७ डिसेम्बर २०१८ मा सहमति भएको हो ।
सहमति भएको तीन वर्ष नाघि सक्दा पनि अहिलेसम्म मानिसले सो पुलबाट यात्रा गरेर नेपाल आउन पाएका छैनन । वडा अध्यक्ष गणेशले भने, ‘ठेकेदारले एक वर्षमै बनाउँछु भनेको हो तर, अहिलेसम्म पुरा भएको छैन । दुई ठाउँको पुल अधुरै छ । उसो त भारतीय पक्षले पुल निर्माण गर्ने क्रममा अवरोध गरेको छैन । तर, पुलको काम सञ्चालन नहुदा तुईन हटाउने गरेको छ ।’
सरकारको तुईन विस्तापन कार्यक्रम अन्तर्गत ब्याँस क्षेत्रमा तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने सहमति अनुसार सो क्षेत्रमा योजना अघि बढी शिलन्यास भएको थियो ।
नेपाल तर्फ ब्याँस गाउँपालिका वडा नम्बर २ माल, वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर ६ बडूगाउँमा २०७६ कार्तिक महिनामा पुलहरुको शिलान्यास समेत गरियो ।
त्यही वर्ष शिलान्यास भएको बडूगाउँ–कालागाड जोड्ने पुल निर्माण सम्पन्न भई संचालनमा ल्याउने तयारी छ । तर सँगै शिलान्यास भएका पुलहरुको निर्माण कार्य ठेकेदारको लापरवाहीका कारण अगाडी बढ्न सकेको छैन् । उक्त पुल निर्माणको ठेक्का धन बहादुर कुँवरले पाएका छन् ।
नेपालतिरको माल र भारतको गस्कु क्षेत्रमा यसअघि नै झोलुङ्गे पुल निर्माणको ठेक्का भई शिलान्यास समेत भएपनि हालसम्म पुल निर्माण हुन नसक्दा तुईनको जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय नरेन्द्र सिंह धामीको गुनासो छ । नेपालपट्टी सहज बाटोघाटो नहुदा ब्याँस क्षेत्रका बासिन्दाहरुले खलंगा आउनका लागि भारतको बाटो हुदै महाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।
स्थानीय भन्छन– ‘भारतीय पक्षले गलत जवाफ दियो’
भरतीय सीमा सुरक्षा बलले तुईन काटेकै कारण जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको स्थानीयहरुले दावी गरेका छन । शुक्रवार दार्चुला जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षलाई पत्र पठाएपछि शनिवार भारतीय सीमा सुरक्षा बलको संलग्नता नरहेको भनि प्रतिक्रिया दिएको थियो ।
‘धेरै पटक तार काटिदिन्छन् । गाली पनि खानुपर्छ । यदी झुलुङ्गे पुल भएको भए यो सबै सहनुपर्ने थिएन’ स्थानीय नरेन्द्रसिंह धामी भने, ‘निर्दोषले बाटो हिँडेकै कारण ज्यान गुमाउनु पर्ने थिएन ।’
दाइ नदीमा खस्दा उनी खलंगा गएका थिए । दाइसँगै गएका साथीहरूले उनलाई घटनाबारे जानकारी गराएका हुन् । ‘अहिले भर्खरै पनि दाइको खोजी गरेर त्यही ठाउँबाट आउँदै छु,’ उनले भने, ’दाइ भेटिन्छकी भन्ने आशा पनि मर्न थालिसक्यो ।’
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले प्रत्यक्षदर्शीहरूले एसएसबीले तुइन काटेको आफूहरूले स्पष्ट नदेखेको बताएको जानकारी दिए । ‘तुइन एसएसबीले काटेको कुरा सोधपुछ गर्दा प्रत्यक्ष देखेको भनेर कसैले पनि भनेनन’, उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ उनले घटनाका बारेमा छानबिन भइरहेको र महाकालीमा बेपत्ता धामीको खोजी तीव्र पारिएको बताए ।
प्रधानमन्त्री देउवाप्रति आशा
२०४८ सालमा सुदूरपश्चिम प्रदेशका बासिन्दा संघिय राजधानी काठमाडौ जाँदा भारतकै बाटो भएर जानुपर्ने बाध्यता थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली पुलसहित प्रदेशमा २२ वटा पुल आफ्नै सरकारले बनाएको २०७४ सालको निर्वाचनका क्रममा भाषण गरेका थिए । ‘२२ वटा पुल बनेपछि सुदूरपश्चिमका नौ वटा जिल्लालाई काठमाडौंसम्म पुग्न सहज भएको छ । मेरो सरकारले केही गरेन नभन्नुहोस् । गौरिफण्टा नाकालाई स्तरोन्नतीसहित अन्तराष्ट्रिय नाका, धनगढी विमानस्थललाई प्रादेशिक अन्तराष्ट्रिय विमानस्थल, सेती अस्पतालको स्तरोन्नति लगायत प्रदेशका हरेक समस्या समाधान गर्न म अझै लागि परेको छु ।’
सुदूरपश्चिमको गन्यापधुरामा जन्मिएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अहिले दार्चुलाबासीको आशा थप बढेको छ ।
आफनै राष्ट्रभित्र प्र्रवेश गर्न भारतीय नाकाबाट आउनुपर्दा उनीहरु निराश छन । ‘अब त सुदूरपश्चिमकै मान्छे प्रधानमन्त्री छन् । अहिलेसम्म समस्या भोगे पनि अब भने यस्तो समस्या भोग्न नपरोस’ स्थानीय नरेन्द्र धामीले भने, ‘सीमामा हुने यस्ता खालका घटना कम गर्न अब सरकारले नै पहल गर्नुपर्ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया