दार्चुला घटनाको छानबिनका लागि गृह मन्त्रालयले बनायो समिति

लोकपथ
63
Shares

काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा एक व्यक्ति महाकाली नदीमा खसेको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

गत शुक्रवार व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी तुइनबाट तर्ने क्रममा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काइदिएपछि महाकाली नदीमा खसेको बताइएको छ । यस विषयको चौतर्फी विरोध भएको छ भने घटनाको छानविन गर्न सरकारलाई दबाब परेको छ ।

सरकारले यस घटनाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

बेपत्ता धामी हालसम्म फेला परेका छैनन् । प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । भारतीय पक्षले भने आफुहरुले तुईन नखुस्काएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?